News Portal

  • राष्ट्रिय बीमा संस्थान ५५ वर्षमा प्रवेश

    कुल बीमा कोष र शुल्क संकलनमा ८.५ प्रतिशत हिस्सा

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७८
    ६३६ पटक
    ११ फागुन, २०७८

    काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ ।
    संस्थान ५५औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रतिष्पर्धी बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे ।
    बजारमा रहेको बीमा व्यवसायको मागलाई पूर्ति गर्न सक्नुपर्ने भन्दै उनले सरकारी स्वामित्वको संस्था भएको नाताले बजारको माग र समय सुहाउँदा नयाँ प्रडक्ट, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिष्पर्धी संस्था बनाउन सुझाव दिए ।
    ‘अन्तराष्ट्रिय प्रचलन र अभ्यास अनुरुप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधिकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा बृद्घि, आर्थिक अनुशासन, व्यवसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस,’ उनले भने ।
    यस्तै बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा भनेकाे विश्वसनीयताको बजार रहेकाेले संस्थानले आफ्नो विगतका कार्य प्रगतिको समिक्षा गर्दै नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न सदैव प्रयत्नशील रहन तथा नेपाल सरकार, बीमा समिति, महालेखा परीक्षकको कार्यालय, लगानीकर्तालगायतका सरोकारवालाहरुको चासोका रुपमा रहेको लेखा परीक्षण, बीमाङ्कीय मूल्याङ्कन र वित्तीय विवरणलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरे ।
    चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरुको जीवन बीमा कोषमा रहेको चार खर्ब ५२ अर्ब ७९ करोड मध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा संकलित बीमा शुल्क ७० अर्ब ९१ करोड मध्ये संस्थानको छ अर्ब पाँच करोड रहेको छ । यसरी हेर्दा कुल बीमा कोष र बीमा शुल्क संकलनमा संस्थानको हिस्सा करिब ८.५ प्रतिशत रहेको छ । त्यसैगरी संस्थानमा हाल कायम रहेको कुल बीमा लेख संख्या छ लाख ३९ हजार रहेको छ ।
    देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले वि.सं. २०२४ साल पुस १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भएको संस्थानले सोही वर्षको फागुन ११ गतेबाट निर्जीवन बीमा तथा २०२९ साल फागुन ७ गतेबाट जीवन बीमाको कारोबार सुरु गरेको थियो ।
    लामो समयसम्म जीवन बीमा र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएकोमा २०७१ सालमा निर्जीवन बीमाकाृ कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल संस्थानले जीवन बीमाको मात्र कार्य गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्