News Portal

  • नेशनल लाइफ ३४ वर्ष पुरा गरी ३५ औ वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७८
    ९५३ पटक
    १० फागुन, २०७८

    काठमाडौं । नेशनल लाइफ  इन्स्योरेन्स कम्पनी ३४औ वर्ष पुरा गरी ३५औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले ३५ औ वार्षिकोत्सवको अवधिमा देशभरमा मानव आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना गरेको छ । यसका साथै केन्द्रिय कार्यालयमा रक्तदान तथा खेलकुद कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम आयोजना नगरिने प्रमुख कार्यकारी अधिकृत सुरेस प्रसाद खत्रीले जानकारी दिए ।
    कम्पनीको ३५ औ वार्षिकोत्सवको अवसरमा कम्पनी प्रति विश्वास सथा सहकार्य गर्ने सम्पुर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरु एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोऊको लागि कृतज्ञता व्यक्त गरेको छ ।
    देशभित्र बीमाको वढ्दो आवश्यकतालाई परिपुर्ति गर्ने उद्देश्यले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (साविक नामः नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स कं. लि.) प्रचलित कम्पनी ऐन र बीमा ऐन अन्तर्गत दर्ता भई आज भन्दा ठिक ३५ वर्ष अगाडी अर्थात २०४४ साल फागुन १० गतेदेखि बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।
    बीमा समितिले २०६३ सालदेखि जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टा छुट्टै बीमा कम्पनी हुनु पर्ने व्यवस्था गरे पछि नेशनल लाइफले आफुलाई पुर्ण रुपमा जीवन बीमा व्यवसायमा स्थापित गर्न सफल भयो । आफुले गर्दै आएको निर्जीवन बीमा व्यवसायको निरन्तरका लागि भने सहायक कम्पनीको रुपमा एनएलजी इन्स्योरेन्स कम्पनीको स्थापना गर्यो ।
    सुरुवाति दिनमा जीवन भन्दा निर्जीवन बीमा व्यवसायमा केन्द्रित नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सले एजेन्ट वेसमा काम गर्न सकेको थिएन । तर सरकारले जीवन र निर्जीवन बीमा कम्पनी छुट्टा छुट्टै हुनु पर्ने व्यवस्था गरे पछि भने कम्पनीहरुले अभिकर्ता मार्फत जीवन बीमा व्यवसाय गर्न थालेका हुन् । २०६३ अगाडि कम्पनीका कर्मचारीहरुले नै व्यवसाय ल्याउथे । यसले गर्दा जीवन बीमा व्यवसाय खासै बृद्धि हुन सकेको थिएनन् ।
    पछिल्लो समय नेशनल लाइफ जीवन बीमा व्यवसायमा थप आक्रामक बन्दै गएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित नेशनल लाइफले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई सर्वाधिक धेरै बोनसदर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्युनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको छ ।
    यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश दिने भएको छ । फ्युचर बोनस प्रोभिजनिङका कारण अन्य कम्पनीको बोनसदर तथा लाभांशमा गिरावट आउदा नेशनल लाइफले भने बढाएर दिन सफल भएको छ ।
    कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।

    कम्पनीले विगतका वर्षमा वितरण गरेको लाभांश

    दुई करोड रुपैयाँ पूँजी सहित स्थापना भएको कम्पनीले यस वर्षको प्रस्तावित लाभांश सहित तीन अर्ब भन्दा माथिको लाभांश दिएको छ । प्रथम बीमा शुल्क तथा नविकरण बीमा शुल्क दुबैमा राम्रो सुधार गरिरहेको कम्पनीले जीवन बीमा कोषमा ४७ अर्ब रुपैयाँ पुर्याउन सफल भएको हो ।
    कम्पनीको लाजिम्पाटमा आफ्नै अत्याधुनिक भवन रहेको छ । ठमेलमा कम्पनीको आफ्नै साढे तीन रोपनी आफ्नै जग्गा छ । नेपालका प्रमुख सहरहरु पोखरा, विराटनगर, विरगञ्ज, नेपालगञ्जमा जग्गा जोड्न सफल भएको छ । सम्पत्तीका हिसावले  कम्पनी सबैभन्दा धेरै सबल भैसकेको छ ।  कम्पनीमा १५/२० वर्ष भन्दा लामो समयदेखि काम गरेका अनुभवी कर्मचारी छन् ।
    पछिल्लो समय बीमा क्षेत्रमा धेरै वटा कम्पनी आए । कसैले आफुलाई आक्रामक रुपमा प्रस्तुत गरे भने कसैले खासै सुधार गर्न सकिरहेका छैनन् ।  ३५ वर्षको अवधिमा कम्पनीले दुई वटा चक्र पुरा गरिसकेको छ । कम्पनीले  बीमितलाई दुइ चरणको फाइदा प्रदान गरिसकेकोले पनि फ्युचर बोनस प्रोभिजनिङका बावजुत पनि बोनसदरलाई स्थिर राख्नुकासाथै बढाउन सफल भएको हो ।
    शेयर संरचना
    कम्पनीको स्थापना हुँदा नै नेशनल लाइफले १० प्रतिशत शेयर सहित विदेशी साझेदार भित्र्याएको थियो । उनिहरुको तर्फबाट एक जना सञ्चालन हुने व्यवस्था रहेको थियो । आजका दिनमा उक्त हिस्सा घटेर २.१५ प्रतिशतमा खुम्चिएको छ । राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत लगानी रहेको कम्पनीमा नेपाली संस्थापकहरुको हिस्सा ५२.८२ प्रतिशत रहेको छ । सर्वसाधारणको शेयर हिस्सा ३५ प्रतिशत रहेको छ । कम्पनीले २०४५ सालमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीको सर्वाधिक सुधार तथा छलाङले गर्दा दोस्रो बजारमा पनि कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिदै आएको छ ।

    प्रतिकृया दिनुहोस्