News Portal

  • नेशनल लाइफको बीमा शुल्क आर्जन २४ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
    ८९७ पटक
    २८ माघ, २०७८

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४.०१ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको छ । कम्पनीले यही अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यही अवधिमा ५ अर्ब ४८ करोड रुपैयाँ थियो ।
    बीमा शुल्क आर्जनमा उल्लेख्य बृद्धिसँगै जीवन बीमा कोष पनि २४.२० प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यही अवधिमा यस्तो रकम ३८ अर्ब एक करोड रुपैयाँ थियो ।
    बीमा शुल्क बृद्धिमा उल्लेख्य सुधार भए पनि बैंक वित्तीय संस्थाको व्याजदर घट्ने क्रममा मुनाफामा भने असर गरेको छ । कम्पनीको खुद मुनाफा ३९ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा १४ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जबकी गत वर्षको यही अवधिमा २३ करोड ६५ लाख रुपैयाँ थियो । उक्त मुनाफामा जीवन बीमा कोषबाट आर्जन भएको आम्दानीलाई नजोडिने भएकाले मुनाफा यथार्थ होइन । एक्चुरियल मूल्याङ्कन पछि मात्रै कम्पनीको वास्तविक मुनाफा थाहा हुन्छ ।
    कम्पनीको दाबी भुक्तानी पनि बढेको छ । गत वर्ष खुद दाबी भुक्तानी एक अर्ब ६४ करोड रुपैयाँ रहेकोमा यस वर्ष भने बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बीमा शुल्कमा बृद्धिसँगै अभिकर्ता कमिशन पनि बढेको छ । समीक्षा अवधिमा अभिकर्ताले ७५ करोड ४१ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।
    जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक धेरै बोनसदर रहेको कम्पनीको बोनसदर न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ रहेको छ । चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ८ रुपैयाँ मात्रै छ ।

    दीर्घकालीन लगानी मात्रै ३० अर्ब ५८ करोड रुपैयाँ गर्न सफल भएको छ । कम्पनीले बीमालेख धितोमा राखेर बीमितहरुलाई ६ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्