News Portal

  • उकेराका प्रधानसम्पादक केपी ढुंगाना अनलाइन जर्नालिजम अवार्डद्वारा पुरस्कृत

    आर्थीकसंसार संवाददाता१७ पुष, २०७८
    ११५९ पटक
    १७ पुष, २०७८

    काठमाडौं । अनलाइन पत्रकार संघले पत्रकार केपी ढुङ्गानालाई ‘अनलाइन जर्नालिजम अवार्ड’बाट पुरस्कृत गरेको छ । शनिबार काठमाडौंमा भएको अनलाइन पत्रकार संघ नेपालको ११औं साधारण सभाले ढुङ्गानालाई सो अवार्डबाट पुरस्कृत गरेको हो ।
    संघले पत्रकार कुवेर चालिसेको संयोजकत्वमा गठन गरेको समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको थियो । सो समितिले गरेको सिफारिसका आधारमा संघका संस्थापक अध्यक्षसमेत गरेका ढुंगानालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
    इञ्जिनियर विनोद ढकालले पाँच लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलोपटक ढुंगानालाई प्रदान गरिएको हो । पुरस्कारको राशी ५० हजार रुपैयाँको छ ।
    अक्षयकोषबाट आएको रकमबाट संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्यालले जानकारी दिए ।
    डेढ दशकदेखि पत्रकारितामा संलग्न ढुंगाना कान्तिपुर, नागरिक दैनिक, नयाँ पत्रिका, राजधानी दैनिक, पहिलोपोस्ट डटकम, शुक्रबार साप्ताहिक र नेपाललाइभ डटकममा काम गरिसकेका छन् । ढुंगाना हाल उकेरा डटकमको प्रधान सम्पादकका रुपमा आवद्ध भएर काम गरिरहेका छन् । उनी अन्तरदेशीय अपराधसम्बन्धी पुस्तक ‘ओपन सेक्रेट’का लेखक समेत हुन् ।
    पत्रकार कुवेर चालिसेले पहिलोपटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरिएको बताएका थिए । उनले आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने समेत बताए ।
    कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन पत्रकारिताको विकासका लागि सरकार सधैं तयार रहेको बताए । सरकारले पत्रकारमाथि अंकुश लगाउने कुरा पनि सोच्न नसक्ने बताउँदै उनले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन प्रदान गर्नको लागि तयारी भइरहेको बताए । यस्तै, कार्यक्रममा सामाजिक सुरक्षा कोषका सह–प्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा श्रमजिवी पत्रकारहरु आवद्ध हुँदा हुने फाइदाका विषयमा पष्ट पारे । उनले श्रमजिवी पत्रकाहरुको दैनिक जीवनमा आउने आर्थिक अभावका समस्याहरु समाधान गर्नको लागि यो कोषले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
    त्यसैगरी संघले डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अनलाइन पत्रकार संघको ११औं अधिवेशनले डिल्लीप्रसाद सापकोटालाई नयाँ कार्यसमितिमा चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने र सदस्यहरूमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल रहेका छन् ।

    प्रतिकृया दिनुहोस्