News Portal

  • रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्ति

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    ८०७ पटक
    १६ पुष, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले राकेश पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने भएको छ । स्रोतका अनुसार कम्पनीको सञ्चालक समितिले पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरिसकेको छ । कम्पनीले आइतबार नियामकीय स्वीकृतिका लागि बीमा समितिमा पेश गर्दैछ ।
    पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै सन् २००९ मा भारतीय बोर्ड (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका पोखरेलले तीन वटा जीवन बीमा कम्पनीमा काम गरिसकेका छन् ।
    प्राइम लाइफमा इन्टर्नल अडिटरको रुपमा प्रवेश गरेका पोखरेलले साढे चार वर्ष काम गरेका थिए । प्राइम लाइफ छाडेर उनले सूर्या लाइफमा सहायक महाप्रबन्धक ‘एजिएम’ पदमा काम सुरु गरे । पछि बढुवा भएर उपमहाप्रवन्धक भए । लगभग पौने तीन वर्ष काम गरेर सूर्या लाइफ छाडेका थिए । सूर्या लाइफपछि उनले आइएमई लाइफको सुरुवाती ६ महिनामा प्रमुखको भूमिकामा महाप्रवन्धक पदमा काम गरेका थिए । उनी विगत तीन–चार वर्षदेखि बीमा क्षेत्रभन्दा बाहिर थिए ।
    यही पुस १२ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद खाली छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली पहिलो कार्यकाल सकाएर बाहिरिएका थिए । उनी नेपाल लाइफमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा जादै छन् ।
    हाल रिलायन्स लाइफले अर्काे व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । कम्पनीको सञ्चालक समितिले पोखरेललाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरे पनि नियामक निकाय बीमा समितिबाट स्वीकृति लिनुपर्छ । बीमा समितिले आवश्यक कागजपत्र, व्यवसायिक योजना हेरेर अन्तिम स्वीकृति प्रदान गर्छ । समितिले स्वीकृति प्रदान गरेपछि मात्रै कम्पनीको सञ्चालक समितिले अन्तिम निर्णय गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस्