News Portal

  • कर्जा पाउनै छाडेपछि उद्योगीहरु पुगे राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता७ पुष, २०७८
    १०१२ पटक
    ७ पुष, २०७८

    काठमाडौं । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको संगठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई यही पुस ६ गते उनकै कार्यकक्षमा भेटेर वित्तीय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजीकरणका लागि अनुरोध गरेको छ ।
    उक्त छलफल कार्यक्रममा संगठनका अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएको कारण बैंक तथा वित्तीय संस्थाहरुले केही समयदेखि औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको आयातका लागि प्रतित पत्र खोल्नसमेत कठिनाई भएबाट औद्योगिक कच्चा पदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सिर्जना हँुदै गएको तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् । राष्ट्र बैंकद्वारा तोकिएका केही विलासीका वस्तुहरुको आयातमा प्रतितपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्न पर्ने व्यवस्था गरी स्वदेशी उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदम भन्दै यस प्रावधानबाट उत्पादनमुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातको सहजिकरणमा मद्दत पुग्ने तर यसबाट विलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्ने तर्फ सचेत हुनुपर्ने सुझाव संगठनले राष्ट्र बैंकलाई दिएको छ ।

    उद्योगीहरुका सुझाव सुनिसकेपछि गर्भनर महाप्रसाद अधिकारीले उत्पादनमुलक उद्योगहरुलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको नियमित आपूर्तिका लागि प्रतितपत्र खोल्न कुनै पनि कठिनाई हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै गर्भनर अधिकारीले विलासिताका केही वस्तुहरुको आयातलाई निरुत्साहित गरेको र यसबाट उत्पन्न हुनसक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको बताए । साथै, गर्भनर अधिकारीले बैंक तथा वित्तिय क्षेत्रमा वित्तिय अनुशासन कायम गर्न चालु मौद्रिक नीति मार्फत सिसिड रेसियोबाट सिडि रेसियोमा रुपान्तरण गरिएकोकारणबाट तरलता अभाव नभएको स्पष्ट पार्दै तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले विभिन्न वित्तिय उपकरण प्रयोग गरी तरलता पठाइरहेकाले अवस्था क्रमशः सुधार हुँदै जाने बताए ।
    उक्त अवसरमा संगठनले लगातार उठाउँदै आएको उत्पादनमुलक क्षेत्रमा प्रवाह भएको र हुने कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरी कायम गर्नुपर्ने, पुनरकर्जा तथा विभिन्न शीर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जाअन्तर्गतका सुविधामुलक कर्जाहरुलाई सहज र द्रुतगतिमा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
    संगठनको प्रतिनिधिमण्डलमा बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य सुशील रिजाल, अध्यक्ष सल्लाहकार सोम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्