News Portal

  • राष्ट्रिय वाणिज्य बैंक पनि नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आवद्ध

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
    ९६५ पटक
    २९ मंसिर, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक पनि नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आवद्ध भएको छ ।
    नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच बुधबार सम्झौता भएको हो । साथै, बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको हो ।
    उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
    यस सम्झौताअनुरुप राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआवद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने छन् । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्नाग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।
    साथै बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई डिजिटल प्ल्याटफर्मको रुपमा कर्पोरेट पे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचल आइपिएस मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
    कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने छ र स्विकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन् ।
    हाल नेशनल पेमेन्ट स्वीचमा ३४ वटा बैंक÷वित्तिय संस्था र १ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३५ वटा संस्था आवद्ध रहेका छन् भने कर्पोरेट पे प्रणाली हाल ३५ वटा बैंक तथा वित्तिय संस्था मार्फत उपलब्ध रहेको छ ।

    प्रतिकृया दिनुहोस्