News Portal

  • अर्थतन्त्रलाई उकास्न मेगाले साढे नौ अर्ब कर्जा प्रवाह गरेको छः सीईओ खुञ्जेली

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ९३९ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बताएकी छिन् । उनले कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगाले करिब ५ अर्ब ७४ करोड रुपैंयाँ सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको बताएकी हुन् ।
    बैंकको साधारणसभालाई सम्बोधन गर्दै उनले मेगा बैंकले विभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सीईओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुटलगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन् ।
    त्यस्तै, बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको उनको भनाई छ ।
    मेगा बैंकको १२ प्रतिशत लाभांश पारित, वैदेशिक रणनीतिक साझेदार भित्र्याउने
    ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग, व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवद्र्धनलाई त्यतातर्फ मोडेका छौं, जसका कारण मेगा बैंकको वित्तीय परिसचूक सन्तोषजनक रहेको छ,’ सीईओ खुञ्जेलीले भनिन् ।
    चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा ८ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
    दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सीईओ खुञ्जेलीले बताइन् । बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै सीईओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरु सञ्चालनमा ल्याइएको जानकारी दिइन् । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याएको उनले बताइन् ।
    मेगा बैंकलाई ‘लिड बैंक’को रुपमा स्थापित गर्ने भावी रणनीति छः अध्यक्ष शाह
    मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताएका छन् । बैंकको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष शाहले अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएको बताएका हुन् ।


    निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौं बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए ।
    ‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग÷व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौं । पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्धि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं,’ अध्यक्ष शाहले भने– ‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।
    शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए । यसैगरी, काठमाडौंको विशालनगरमा आगामी तीन वर्ष भित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए ।
    अध्यक्ष शाहले मेगा बैंकले आर्थिक बर्ष २०७७/७८ मा एक अर्ब एक करोड सत्र लाख रुपैया राजश्व दाखिला गरेको बताए । उनका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१ प्रतिशत बढी राजश्व दाखिला गरेको छ ।
    बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघिय तथा प्रादेशिक वा पालिका स्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार र उपचारार्थ खर्च गर्ने नीति लिएको छ । शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित वडारपालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।
    बैंकले उपत्यका र उपत्यकाबाहिर गरी २०३ वटा शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्