News Portal

  • दृष्टिविहीनले सेवा दिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७८
    १०५१ पटक
    २३ मंसिर, २०७८

    काठमाडौं । रेष्टुरेन्ट व्यवसायमा पृथक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
    दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्नेछन् । बिहीबारबाट सञ्चालनमा आएको दृष्टिविहीनबाट सेवा प्राप्त हुने यो रेष्टुरेन्ट नेपालमा पहिलो भएको र एसियामा पनि दुवई र भारतको हैदरावादमा मात्र यस किसिमको रेष्टुराँ सञ्चालनमा रहेको सञ्चालकहरुको भनाइ छ ।
    ‘डाइनिङ् इन द डार्क रुम’ नाम दिइएको यो सेवामा निश्चित मेन्यु रहनेछ र उक्त मेन्युमा भएका खानेकुरा अँध्यारो कोठामा राखिएका टेबलमा बसेर लिनुपर्नेछ । रेष्टुरेन्टले दृष्टिविहीनहरुले कसरी जीवन जिउँछन् र खानाको स्वाद आँखाले नभै जिब्रोले कसरी लिने भन्ने अभ्यास गराउने यस रेष्टुरेन्टका सञ्चालक सुरेश महर्जनले बताउनुभयो । “हामीले रेष्टुरेन्ट व्यवसायमा केही पृथक अभ्यास गरौं भनेर दृष्टिविहीनबाटै खाना सर्भ गराउन थालेका छौं,” महर्जनले भन्नुभयो, “दृष्टिविहीनले कसरी जीवन जिएका छन् र खानेकुराको स्वाद कसरी लिइरहेका छन् भन्ने महसुस अरुले पनि गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।”
    ललितपुरको कोपुन्डोलस्थित डायमन्ड गल्लीमा अवस्थित अ फाइन डाइन इन रेष्टुरेन्टमा अँध्यारो कोठाको बीचमा केही टेबल कुर्सी रहेनछ भने यसभित्र मोबाइल र अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ । रेष्टुराँमा रहेका अँध्यारा कोठामा जानुपूर्व त्यहाँको जानकारी सेवाग्राहीलाई गराइन्छ । अनि दृष्टिविहीन कर्मचारीको काँधमा हात राखेर सेवाग्राहीलाई त्यही अन्धकार कोठामा लगेर टेबलमा बस्न सहयोग पुर्याउनेछन् ।
    रेष्टुरेन्टका सञ्चालकहरुका अनुसार कोभिड संक्रमणका कारण धेरैको रोजगारी गुमेपछि दृष्टिविहीनको अवस्थाबारे आफूहरुलाई चिन्ता लागेकै कारण जोखिम मोलेर यसमा लगानी गरिएको हो । थोरै संख्यामा भए पनि दृष्टिविहीनलाई रोजगारी दिनकै लागि यो रेष्टुरेन्ट खोलिएको हो । हाल यहाँ दस जना दृष्टिविहीनले रोजगारी पाएका छन् । उनीहरूलाई यसअघि तीन महिनाको तालिम पनि दिइएको छ । अन्य शाखाहरूमा पनि दृष्टिविहीनलाई नै रोजगारी दिने योजना सञ्चालकको छ ।
    सुरुमा बुकिङ गरेर मात्र प्रवेश गर्न सकिने यो रेष्टुराँमा सेवाग्राहीले रातो, नीलो अथवा हरियो नाममा मात्र खाना मगाउन सक्नेछन् । अँध्यारोमा खाँदा कुनै समस्या नहोस् भनेर त्यस्तै किसिमको खाना छनोट गरिएको र साना–साना आकारमा मात्र परिकार बनाइने सञ्चालक महर्जनले बताउनुभयो । करिब डेढ करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको यो रेष्टुरेन्टमा शान्त वातावरणमा कफी हाउस, बारलगायतका अन्य सुविधा पनि उपलब्ध छन् ।

    प्रतिकृया दिनुहोस्