News Portal

  • एनएमबि बैंकले इतिहास रच्यो – “बैंक अफ दि इयर एसिया २०२१” र “बैंक अफ दि इयर २०२१” अवार्ड विजेता

    एनएमबि बैंकले दिएको ‘बैंकिङ सन्देश’

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
    २०३० पटक
    १५ मंसिर, २०७८

    काठमाडौं । ‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ दि एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले कार्यक्रममै सीईओ सापलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनुपर्छ भनेको थिएँ, एक वर्ष ढिलो भइयो, तर हामी यो अवार्ड पाउन सफल भयौं, एनएमबि बैंक, नेपाली बैंकिङ क्षेत्र र सारा नेपालीका लागि यो गौरवको विषय हो ।’
    बुधबार राजधानी काठमाडौंमा एनएमबि बैंकद्वारा आयोजित ‘बैंक अफ दि एसिया २०२१’ सार्वजनिक कार्यक्रमा बैंकका अध्यक्ष पवन गोल्यानले यस्तो धारणा राखिरहँदा हलभित्र गडगडाहट ताली बज्यो ।
    उनले आफ्नो धारणा थप्दै भने, ‘सञ्चालक समितिबाट हुने साथ र सहयोग व्यवस्थापनलाई शतप्रतिशत छ, न हामीले कुनै काममा हस्तक्षेप गर्नु परेको छ, नत तिखो निर्देशन नै, सीईओ सापको कुशल कार्य सम्पादन र सम्पूर्ण टिमको कठिन मिहेनतले एनएमबि बैंक आज नेपालमा मात्र होइन, एशियामै उत्कृष्ट बैंकको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।’


    कार्यक्रममा सरल र शालिनताका साथ प्रस्तुत भएका अध्यक्ष गोल्यानले गर्वका बान्कीहरु बोल्ने मात्रै होइन एनएमबि विश्वकै उत्कृष्ट बैंक बन्ने सपना सहितको योजना पनि प्रस्तुत गरे ।
    देशमा नयाँ उद्यमीहरु जन्माउनेदेखि विदेशबाट ठूलो रकम नेपाल भित्र्याउनका लागि एनएमबि बैंकले ठूलो पहल गरेको सुनाउँदै उनले अझै विश्वको उत्कृष्ट बैंक बन्न सबैको साथ र सहयोगको अपेक्षा सहितको धारणा राखे ।
    एनएमबि बैंक ‘बैंक अफ दि एसिया इयर अवार्ड २०२१’ पाउने पहिलो नेपाली बैंक बनेको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागेजिन ‘दि बैंकर’ ले सो अवार्ड प्रदान गरेको हो ।
    चीन, भारत, हङकङ, दक्षिण एसिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भयो । जुन नेपाली बैंक तथा वित्तीय संस्था र नेपाल सरकारका लागि पनि गौरवको विषय हो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले पनि वाणिज्य बैंक बनेको १३ वर्षको छोटो अवधिमा एनएमबि बैंकले ठूलो उपलब्धि हासिल गरेको बताए । केसीले एनएमबि बैंकले बैंक अफ दि एसिया हुनु सबैको जित भएको धारणा राखे ।


    ‘यो उपलब्धि एनएमबि बैंकको मात्र होइन, यो जित नेपाली बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक, नेपाल सरकार र सारा नेपालीको हो, यो जितले हामीलाई थप चुनौति थपेको छ,’ उनले भने ।
    १ शाखा र ३५ कर्मचारीबाट बैंकिङ्ग सेवा शुरु गरेको एनएमबिले वाणिज्य बैंक बनेको १३ वर्षको अवधिमा बैंकिङ क्षेत्रमै धेरै काम पहिला गर्ने बैंकको रुपमा आफुलाई चिनाउन सफल भएको छ ।
    ‘बैंकले सुशासन र वित्तीय साक्षरतामा ध्यान दिँदै आएको छ, नेपाली बैंकिङ क्षेत्रमै एनएबिको जस्तो बोर्ड कुनैको पनि छैन भन्ने मैले महसुस गरेको छु, त्यो किसिमको साथ र सहयोग व्यवस्थापनलाई छ, दीगो बैंकिङलाई मध्येनजर गर्दै हामी काम गरिरहेका छौं, यसमा यहाँहरु सबैको साथ हामीलाई आवश्यक छ, हाम्रो यात्रा अझ लामो छ,’ उनले आफुहरुले विगतमा गरेका कामहरु सुनाए ।


    ठूला–ठूला बैंकले नपाएको अवार्ड एनएमबिले पाउँदा निकै खुशी भएको सुनाउँदै उनले नेपालमा पनि थुप्रै काम र प्रडक्टहरु सार्वजनिक गर्नेमा एनएमबि पहिलो बैंक बनेको बताए ।
    सन् २००० मा स्थापित बैंक अफ दि इयर अवार्ड प्रत्येक वर्ष विभिन्न देशका उत्कृष्ट बैंकिङ सेवा दिने बैंकहरुले पाउँदै आएका छन् ।
    पश्चिमी युरोप, मध्यपुर्वी युरोप, एसिया, अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरीकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरुको मूल्लांकन गर्ने र विश्वकै अग्रणी संस्थाका रुपमा मान्यता प्रदान गर्ने मानकको रुपमा लिइन्छ ।
    बैंकको बृद्धि र कार्य सम्पादनको शैली, बैंकको रणनीतिक पहलहरु, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नविनतम सेवा र उत्पादनहरु दीगो विकासका लागि गरिएका गतिविधि र प्रतिकुल परिस्थितिको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डहरुको आधारमा यो अवार्ड प्रदान गरिन्छ । एनएमबि बैंकका प्रमुख व्यवसाय रणनीतिक अधिकृत सुदेश उपाध्यायले परम्परागत बैंकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दीगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै आएकोले पनि अवार्ड पाउन सफल भएको बताए ।
    ‘नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियोकलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र एनएमबि सापटी मार्फत २४ घण्टा भित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नविनतम सेवाहरु हामीले प्रदान गर्दै आएका छौं, यसले पनि हामीलाई धेरै मद्दत पुगेको छ, दैनिक सयौं ग्राहक हामीसँग जोडिरहेका छन्,’ उपाध्यायले भने ।
    उनका अनुसार बैंंकको देशभरका २०१ शाखामार्फत डिजिटल सेवा प्रवाह गर्नमा एनएमबि उत्कष्ट बैंकका रुपमा परिचित भएको पनि बताए । उनले पनि एनएबि बैंकले नेपाली बैंकिङ क्षेत्रमा धेरै कामहरु गरेर पहिला गरेर नयाँ छाप र सन्देश र योगदान दिन खोजेको बताए ।
    एनएबि बैंकको यो उपलब्धिले नेपाली बैंकहरुले पनि उत्कृष्ट सेवा दिन्छन् भन्ने तथ्यको सन्देश दिएको बैंकको बुझाई छ ।
    बैंकले बैंक अफ दि एसिया अवार्ड पाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकलाई बधाई पनि दिएका छन् । प्रधानमन्त्री देउवाले बैंकका अध्यक्ष गोल्याण र सीईओ केसीलाई संयुक्त रुपमा अवार्ड प्रदान गर्दै आगामी दिनमा थप सशक्त भएर काम गर्न पनि हौसला दिएका छन् ।

    प्रतिकृया दिनुहोस्