News Portal

  • नबिल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सातै प्रदेशका क्याम्पसमा विकास गरिने

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७८
    १४३० पटक
    १० मंसिर, २०७८

    काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिविको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ ।
    बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्य लिएका जनाएको छ । यस कार्यक्रममार्फत बैंकले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप र वित्तीय सहयोग प्रदान गर्ने छ ।
    त्यस्तै यस कार्यक्रमअन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोशीप कार्यक्रम गरी दुई किसिमका छन् । जसमध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पसँग सम्झौता गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।
    कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने बताए । ‘नबिल बैंकले यो कार्यक्रम सुरुवात गर्नुको लक्ष्य प्रत्येक एक वर्षमा सात सय नेपाली युवालाई सामाजिक उद्यमको प्रमाणपत्र दिने हो, यसरी हरेक प्रदेशमा एक सय समाजिक उद्यमी उत्पादन गरी प्रमाणपत्र दिएर प्रत्येक वर्षमा ७ सय विद्यार्थी सामाजिक उद्यमी बन्ने अवसर सृजना गर्ने छौं । फेलोसिप कार्यक्रम आवासीय तालिम हो,’ उनले भने ।
    शाहले नबिलको एसएसई कार्यक्रमको दुवै कोर्ष पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताए ।
    कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् ।
    तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । कार्यक्रम सात प्रदेशमध्ये प्रदेश १ मा महेन्द्र मोरङ क्याम्पस, प्रदेश २ मा वीरगंज पब्लिक कलेज, वागमती प्रदेशमा क्याम्पियन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदूरपश्चिमको सुदूरपश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको छ । अब नबिलको सात प्रदेशको यी कलेजमा सामाजिक उद्यमशीलता कार्यक्रम पढाइ हुने छ ।
    कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेल, उपाध्यक्ष निर्वाणकुमार चौधरीसँगै डेपुटी सीइओलगायत उच्च व्यवस्थापनका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्