News Portal

  • नेपाल टेलिकमको प्रथम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७८
    ९८३ पटक
    ३० कार्तिक, २०७८

    काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक भएको छ ।
    सो वित्तीय विवरणमा गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा कम्पनीको सञ्चालन आय रु. ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकोमा चालु आ. व. को सोही अवधिमा रु. १ अर्ब १३ करोड ९९ लाख ५४ हजार (अर्थात, १३.२ प्रतिशत) ले वृद्धि भई रु. ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेको छ ।
    साथै कम्पनीको गत आ.व.को प्रथम त्रैमासिक (२०७७ आश्विन मसान्त)को कुल आय रु. १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा कुल आय रु. ८४ करोड ७८ लाख ७१ हजार (अर्थात, ८.३९ प्रतिशत) ले बृद्धि भई रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको बताइएको छ ।
    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद मुनाफा रु. १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा रु. ७४ करोड २१ लाख ३४ हजार (अर्थात, ४८.९० प्रतिशत) ले वृद्धि भई रु २ अर्ब २५ करोड ९९ लाख ४ हजार मुनाफा गर्न सफल भएको छ ।
    त्यसैगरी कम्पनीको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा EBITDA रु. ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आ.व. को सोहि अवधिमा रु. ८४ करोड ४९ लाख ५७ हजार (अर्थात, २१.२८ प्रतिशत)ले वृद्धि भई EBITDA रु. ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार रहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा भनिएको छ । त्यसैगरी प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक रहेको छ ।
    सकारात्मक हुनुका प्रमुख कारणहरु निम्नानुसार छ:
    क.  4G आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार बृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको । यसैगरी 2G/3G  सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत 2G/3G/4G सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको । कम्पनीको FTTH सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई FTTH मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा IPTV सेवाका ग्राहकहरु वृद्धि हुन गइ फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको भनिएको छ ।
    ख. मुलुक तथा विश्वव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमपश्चात कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आ.व.को सुरुबाटै केही सहज भएकाले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको बताएको छ ।
    ग. कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहक वर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व बृद्धि हुने अवस्था नरहे तापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधारजस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले सेवा उपयोगमा वृद्धि भएको ।
    घ. कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन क्लासेस, सोसियल नेटवर्किङ, इन्टरनेट बेस्ड इन्टरट्रेन्डमेन्ट आदिमा भएको बृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा र एसएमएस सेवामा गत आ.व.को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) को तुलनामा चालु आ. व. को सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्