News Portal

  • कामना सेवाको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित

    अध्यक्ष आचार्यसहित ६ जना सञ्चालक निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७८
    १३३६ पटक
    २४ कार्तिक, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित भएको छ । कार्तिक २३ गते मंगलबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कूल १९.४७ प्रतिशत लाभांश पाउने भएका छन् ।
    बैंकले आ.व. २०७८/७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक पीकेएफ टिआर उपाध्याय एण्ड कम्पनीलाई नियुक्ति गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम सञ्चालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।
    सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचित गरेको छ । जसमा साधारणसभाबाट संस्थापक समूहबाट सुदिप आचार्य, भिमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूह तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका छन् । साथै, सोही दिन बसेको सञ्चालक समितिको बैठकले सुदीप आचार्यलाई अध्यक्षमा चयन गरेको छ ।

    प्रतिकृया दिनुहोस्