News Portal

  • राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०७८
    १८३८ पटक
    २२ कार्तिक, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
    उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने छ । प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरुलाई कर्जा प्रवाह गरिने छ । सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउने छ । यस सम्भौतापश्चात नेपाली सेनाका बहालवाला सकलदर्जाहरुको आफ्नै आवासको व्यवस्था भइ सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने हुने विश्वास गरिएको छ ।
    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कोषका निर्देशक सहायक रथी सागर के.सी, वरिष्ठ चार्टड एकाउन्टेण्ट, जीवनप्रसाद पौडेल, राष्ट्रिय बिमा संस्थानका कोेष प्रशासक कविप्रसाद पाठकलगायत नेपाली सेनाका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

    प्रतिकृया दिनुहोस्