News Portal

  • नेपाल टेलिकमद्वारा जेष्ठ नागरिकहरुलाई निःशुल्क सिम प्रदान गर्ने

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७८
    १६५२ पटक
    १४ असोज, २०७८

    काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ ।
    सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका जेष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।
    नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट जेष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नु हुनेछ । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
    नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका जेष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले आदरणीय जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षासमेत गरेको टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्