News Portal

  • बाह्रखरी कथा प्रतियोगिताको प्रथम पुरस्कार चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ लाई

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८३
    ११ पटक
    ६ मंसिर, २०८३

    काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२ खरी कथा प्रतियोगिता, २०८३’ को प्रथम पुरस्कार कथाकार चेतनाथ आचार्यले प्राप्त गरेका छन् ।

    उनको ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाले प्रथम स्थान हासिल गर्दै नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

    प्रतियोगितामा ‘सपनाको अर्को रङ्ग’ कथाका कथाकार मधुर भट्टराई द्वितीय भएका छन् । उनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

    यस्तै, ‘अस्तित्वको अल्गोरिदम’ कथाकी कथाकार सरस्वती सरस तृतीय भइन् । उनले नगद ६० हजार रुपैयाँ प्राप्त गरिन् ।

    आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रतियोगिताका विजेता घोषणा गरिएको हो ।

    कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले विजेता कथाकारहरूलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

    सोही अवसरमा प्रतियोगिताका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पनि सार्वजनिक गरिएको छ । सभामुख अर्यालले उक्त कृतिको लोकार्पण गरे ।

    प्रतियोगितामा उत्कृष्ट २५ कथाकारमध्ये प्रथम, द्वितीय र तृतीय हुनेबाहेक अन्य २२ कथाकारलाई जनही सात हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

    उत्कृष्ट २५ कथाकारमा अनिता कोइराला, अपेक्षा कार्की, आशिष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र डा. सुरेन्द्र गैरे रहेका छन् ।

    आठौं संस्करणको प्रतियोगितामा नेपालका विभिन्न स्थानसँगै भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया र इण्डोनेसियालगायत मुलुकमा बसोबास गरिरहेका नेपाली कथाकारले सहभागिता जनाएका थिए ।

    कथा छनोटका लागि बाह्रखरी मिडियाले आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायक समितिको संयोजक अग्रज कथाकार भुवन ढुंगाना रहेका थिए भने समालोचक तथा साहित्यकार डा. ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछाने सदस्य थिए ।

    आन्तरिक मूल्यांकन समितिको संयोजन बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीले गरेका थिए ।

    उत्कृष्ट २५ कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ फाइनप्रिन्टले बजारमा ल्याएको हो । उक्त कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका छन् ।

    बाह्रखरी मिडियाले विगत आठ वर्षदेखि कथा लेखन र कथाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले निरन्तर कथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    साहित्यको लोकप्रिय विधा भएपनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षण घट्दै गएको सन्दर्भमा नयाँ तथा पुराना पुस्ताका कथाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मिडियाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्