१ मंसिर, २०८३काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको करदाता सम्मान समारोहमा आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा क्षेत्रमा कारोबार गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई सम्मान गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
प्रतिकूल परिस्थितिका बाबजुद सर्वाधिक करदाता सम्मान प्राप्त गर्न सफल भएकोमा कम्पनीले गौरव महसुस गरेको जनाएको छ । कम्पनीका अनुसार यो सम्मान पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धताको कदर हो ।
कम्पनीले स्थापनाकालदेखि नै प्रचलित कानुन, नियम तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र नैतिक व्यावसायिक संस्कृतिलाई प्राथमिकता दिँदै आएको जनाएको छ । राज्यप्रतिको दायित्वलाई कानुनी बाध्यताका रूपमा मात्र नभई जिम्मेवार संस्थागत नागरिकको कर्तव्यका रूपमा आत्मसात् गर्दै करसम्बन्धी दायित्व समयमै र पूर्ण रूपमा निर्वाह गर्दै आएको कम्पनीको भनाइ छ ।
कम्पनीले प्राप्त गरेको सम्मानले वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायी व्यवस्थापन तथा दीर्घकालीन व्यावसायिक स्थायित्वप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाएको छ ।
बीमा क्षेत्र व्यक्ति, व्यवसाय तथा राष्ट्रको आर्थिक जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने क्षेत्र भएकाले बीमित तथा सेवाग्राहीप्रतिको दायित्व, सेयरधनीको हित, नियामकीय अनुपालन र वित्तीय उत्तरदायित्वलाई सन्तुलित रूपमा अघि बढाउँदै आएको कम्पनीले जनाएको छ ।
यस सम्मानलाई विगतको उपलब्धिको मान्यताका रूपमा मात्र नभई आगामी दिनमा अझ उच्च व्यावसायिक नैतिकता, पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न थप प्रेरणाका रूपमा लिएको कम्पनीले जनाएको छ ।
कम्पनीले यस उपलब्धिमा योगदान पुर्याउने नेपाल सरकार, नियामक निकाय, बीमित तथा सेवाग्राही, सेयरधनी, अभिकर्ता, पुनर्बीमक, व्यावसायिक साझेदार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ ।



