News Portal

  • पूर्वाधार विकासको मापन किलोमिटरमा नभई समय दूरी घटाउनमा हुनुपर्छ : पाण्डे

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८३
    १८ पटक
    १९ कार्तिक, २०८३

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपालको पूर्वाधार विकासलाई सडक कालोपत्रे भएको किलोमिटरका आधारमा मात्र नभई देशका विभिन्न भूभागबीचको यात्रा समय कति घटाउन सकियो भन्ने आधारमा मापन गर्नुपर्ने बताएका छन् ।

    नेपाल पूर्वाधार सम्मेलन २०२६ को पत्रकार सम्मेलन कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष पाण्डेले ३, ६, ९, १२ = १०० को अवधारणा प्रस्तुत गर्दै पूर्वाधार विकास र आर्थिक समृद्धिबीचको सम्बन्धलाई व्याख्या गरेका हुन् ।

    उनले काठमाडौंलाई केन्द्रमा राखेर तीन घण्टामा चितवन, साढे तीन घण्टामा पोखरा, छ घण्टामा राजधानी मित्तर, नौ घण्टामा कञ्चनपुर र १२ घण्टामा पूर्वदेखि पश्चिम महाकालीसम्म पुग्नसक्ने यातायात पूर्वाधार निर्माण गर्न सके देशले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

    अध्यक्ष पाण्डेका अनुसार पूर्वाधार सम्मेलनले परिकल्पना गरेको १०० मिलियन डलरको अर्थतन्त्र हासिल गर्न यातायात सञ्जाललाई सहज, छरितो र प्रभावकारी बनाउनु आवश्यक छ ।

    उनले भने, ‘पूर्वाधार विकासको मापन यो वर्ष कति किलोमिटर कालोपत्रे भयो भन्ने आधारमा होइन, नेपालका प्रत्येक भूभागबीचको दूरीलाई कति घण्टाले घटाउन सक्यौ भन्ने आधारमा हुनुपर्छ ।’

    देशका विभिन्न भूभागबीचको यात्रा समय घटाउन सके आर्थिक गतिविधि विस्तार हुने, व्यापार व्यवसाय सहज हुने र समग्र आर्थिक समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो ।

     

    प्रतिकृया दिनुहोस्