News Portal

  • त्रिविले बन्द गर्यो विदेशी शैक्षिक उपाधिको समकक्षता र मान्यता

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८३
    १४ पटक
    २३ असोज, २०८३

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले विश्वविद्यालयबाहिरबाट प्राप्त उच्च शिक्षाका शैक्षिक उपाधिको मान्यता तथा समकक्षता प्रदान गर्ने कार्य बन्द गरेको छ । केन्द्रले असोज २३ गतेदेखि लागू हुने गरी यस्तो सेवा बन्द गरेको जनाएको छ ।

    केन्द्रले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार विश्वविद्यालय अनुदान आयोगमा रहने कानुनी व्यवस्था छ । केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ मार्फत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ को उपदफा (१) को खण्ड (छ३) मा गरिएको व्यवस्थाअनुसार २०८३ साउन १ गतेदेखि विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी आयोगलाई दिइएको हो ।

    त्रिविको पाठ्यक्रम विकास केन्द्रले विगत पाँच दशकदेखि त्रिभुवन विश्वविद्यालयबाहिरबाट प्राप्त उच्च शिक्षाका उपाधिको मान्यता तथा समकक्षता प्रदान गर्दै आएको थियो । तर, कानुनी व्यवस्थाअनुसार अब उक्त जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा रहने भएकाले केन्द्रले समकक्षता तथा मान्यतासम्बन्धी नयाँ आवेदन लिन बन्द गरेको जनाएको छ ।

    केन्द्रका अनुसार २०८३ असार मसान्तसम्म नियमानुसार दर्ता भएका आवेदनमा उपलब्ध कागजातका आधारमा निर्णय गरिसकिएको छ । कानुनले तोकेको समयसीमाभित्र समकक्षता वा मान्यता प्रदान गरिएका शैक्षिक उपाधि र ती उपाधि प्रदान गर्ने विश्वविद्यालय तथा शैक्षिक संस्थाको अभिलेखसहितको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।

    यसैबीच, केन्द्रमा २०८३ असार मसान्तसम्म आवेदन दर्ता गराई समकक्षता वा मान्यता प्रदान गर्ने निर्णय भइसके पनि प्रमाणपत्र लिन बाँकी रहेका आवेदकलाई दसैँ बिदापछि केन्द्रबाट प्रमाणपत्र बुझिलिन सूचित गरिएको छ ।

    प्रतिकृया दिनुहोस्