१९ असोज, २०८३काठमाडौं । प्रविधि कम्पनी योद्धाल्याबले नेपालमै विकास गरेको ग्राहक व्यवस्थापन सफ्टवेयर (सीआरएम) ‘कुडोससीआरएम’ सार्वजनिक गरेको छ । साना तथा मझौला व्यवसायलाई लक्षित गरी विकास गरिएको यो सफ्टवेयरमार्फत ग्राहकको पहिलो सोधपुछदेखि बिल भुक्तानी र पुनः खरिदसम्मका काम एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालका धेरै व्यवसायमा ग्राहकसम्बन्धी विवरण फोन, भाइबर, ह्वाट्सएपका सन्देश, नोटबुक, एक्सेल तथा कर्मचारीको व्यक्तिगत सम्झनामा छरिएर रहने गरेका छन् । यसले ग्राहकको सोधपुछमा समयमै जवाफ दिन नसकिने, कर्मचारी परिवर्तन हुँदा ग्राहकको विवरण हराउने तथा बाँकी भुक्तानी पत्ता लगाउन समस्या हुने गरेको कम्पनीको भनाइ छ ।
यही समस्या समाधान गर्ने उद्देश्यले कुडोससीआरएम विकास गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सहसंस्थापक राजेश रेग्मीका अनुसार साना व्यवसायमा ग्राहक गुम्दा त्यसको प्रत्यक्ष असर पर्ने भएकाले ग्राहकसँगको सम्पूर्ण विवरण व्यवस्थित राख्ने प्रणाली आवश्यक छ ।
कम्पनीका अनुसार वेबसाइटको फारम, बुकिङ लिंक वा वेबसाइट च्याटमार्फत आएको सोधपुछ सफ्टवेयरमा स्वतः सम्भावित ग्राहक अर्थात् लिडका रूपमा दर्ता हुन्छ । ग्राहक कुन माध्यमबाट आएको हो भन्ने विवरणसमेत स्वचालित रूपमा रेकर्ड हुने कम्पनीले जनाएको छ ।
ग्राहकको नाम, सम्पर्क नम्बर, सोधपुछको विषय, फोन, इमेल तथा भेटघाटसम्बन्धी विवरण एउटै पृष्ठमा राख्न सकिने भएकाले कर्मचारी परिवर्तन भए पनि ग्राहकसम्बन्धी विवरण सुरक्षित रहने कम्पनीको दाबी छ ।
त्यस्तै, व्यवसायीले सफ्टवेयरमार्फत ग्राहकलाई कोटेसनको लिंक पठाउन सक्नेछन् । ग्राहकले मोबाइलबाटै कोटेसन हेरेर अनलाइन स्वीकृति दिन सक्ने र स्वीकृत कोटेसनबाटै इनभ्वाइस तयार गर्न सकिने कम्पनीले जनाएको छ ।
कुन बिलको भुक्तानी भइसकेको छ, कुन बाँकी छ र कुनको भुक्तानी म्याद नाघेको छ भन्ने विवरण एउटै स्क्रिनबाट हेर्न सकिने कम्पनीको भनाइ छ । बिक्रीपछि आउने गुनासोलाई पनि सम्बन्धित ग्राहकको पृष्ठमा टिकटका रूपमा दर्ता गर्न र फलोअपका लागि रिमाइन्डर राख्न सकिने सुविधा सफ्टवेयरमा रहेको छ ।
सफ्टवेयरमा रहेको ड्यासबोर्डबाट कति सोधपुछ आयो, कति बिक्रीमा परिणत भयो र कति सम्भावित ग्राहक गुमे भन्ने विवरणसमेत हेर्न सकिने कम्पनीले जनाएको छ ।
कुडोससीआरएमको शुल्क खल्तीमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसले विदेशी सफ्टवेयर प्रयोग गर्दा डलर कार्ड आवश्यक पर्ने समस्या हटाउने कम्पनीको दाबी छ ।
कम्पनीले भारतलगायत अन्य देशका व्यवसायलाई समेत कुडोससीआरएम बिक्री सुरु गरिसकेको जनाएको छ। सफ्टवेयर कम्पनीको वेबसाइटमार्फत उपलब्ध रहेको छ ।



