Skip

News Portal

  • ‘नेपाल कलिङ’ नारासहित नाट्टा सम्पदा दौड सम्पन्न

    आर्थीकसंसार संवाददाता११ असोज, २०८३
    २० पटक
    ११ असोज, २०८३

    काठमाडौं । ‘नेपाल कलिङ’ मुख्य नारासहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको ‘नाट्टा सम्पदा दौड २०८३’सम्पन्न भएको छ ।

    आइतबार ४७औँ विश्व पर्यटन दिवसका अवसरमा दौडले पर्यटन, स्वास्थ्य, सम्पदा संरक्षण तथा सामुदायिक सहभागितालाई जोड्दै सम्पन्न भएको हो ।

    काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटन गतिविधिसँग जोड्ने सन्देश दिएको आयोजकले जनाएको छ ।

    नाट्टा अध्यक्ष भरतजंग पाण्डेको नेतृत्वमा आयोजित कार्यक्रम नाट्टा कार्यसमिति सदस्य नबिन गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो ।

    ६ किलोमिटर लामो दौड काठमाडौं दरबार स्क्वायरबाट सुरु भई रत्नपार्क, शहीदगेट, रंगशाला, थापाथली, साझा पेट्रोल पम्प तथा लबिम मल हुँदै पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो ।

    काठमाडौं र ललितपुरका महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई एउटै दौडमार्फत जोडिएको यस कार्यक्रमले सहभागीलाई सम्पदासँग प्रत्यक्ष जोडिँदै पर्यटन अनुभव गर्ने अवसर प्रदान गरेको अध्यक्ष भरतजंग पाण्डेले बताए ।

    पर्यटन व्यवसायी, युवा, विभिन्न संघसंस्था, नाट्टा परिवार तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।

    नाट्टा सम्पदा दौड २०८३ को पुरुषतर्फ रविन्द्र रावत प्रथम भएका छन् । सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय भएका छन् ।

    महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय भएकी छन् ।

    आयोजक नाट्टाले प्रायोजकको सहयोगले कार्यक्रमलाई थप ऊर्जाशील र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।

    त्यस्तै, कार्यक्रमको समापन तथा पाटनतर्फको आतिथ्य व्यवस्थापनमा पाटन पर्यटन विकास संगठनका अध्यक्ष कृष्णलाल महर्जनसहितको टोलीले सहयोग गरेको थियो ।

    सहभागीका लागि आवश्यक आतिथ्य तथा अन्य व्यवस्थापनमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेको नाट्टाले जनाएको छ ।

    कार्यक्रममा फ्रन्टलाइन अस्पतालले स्वास्थ्य साझेदारका रूपमा सहयोग गरेको थियो ।

    नाट्टाका अनुसार नाट्टा सम्पदा दौड केवल दौड प्रतियोगितामा सीमित नभई स्वास्थ्य, पर्यटन, सम्पदा संरक्षण, सामुदायिक सहभागिता र एकताको साझा उत्सवका रूपमा सम्पन्न भएको हो ।

    काठमाडौं दरबार स्क्वायरदेखि पाटन दरबार स्क्वायरसम्मको दौडले काठमाडौं उपत्यकाका दुई महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई पर्यटन गतिविधिमार्फत जोड्ने प्रयास गरेको छ ।

    प्रतिकृया दिनुहोस्