News Portal

  • बाढीमा सर्वस्व गुमाएकी विष्णुकुमारीको केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

    आर्थीकसंसार संवाददाता३ असोज, २०८३
    ३५ पटक
    ३ असोज, २०८३

    काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वस्व गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

    विष्णुकुमारीलाई उनका पति राजकुमार डंगोलले मिर्गौला दान गरेका हुन् । उनी पनि पत्नीसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    बाढीले घरबारसँगै उपचारका लागि वर्षौं लगाएर जम्मा गरेको रकमसमेत बगाएपछि विष्णुकुमारीको अवस्था दयनीय बनेको थियो । सामाजिक सञ्जालमार्फत उनको अवस्थाबारे जानकारी पाएपछि नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनीलकुमार शर्माले दम्पतीको सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गरेका थिए । उनले बिरामी र मिर्गौला दाताका लागि खानपिनको समेत व्यवस्था मिलाएका थिए ।

    शर्माको घोषणापछि केएमसीका चिकित्सकको टोलीले विष्णुकुमारीको मिर्गौला प्रत्यारोपण प्रक्रिया अघि बढाएको थियो । प्रत्यारोपण सफल भएपछि विष्णुकुमारी र उनका पति राजकुमार अस्पतालबाट घर फर्किएका छन् ।

    अस्पतालबाट डिस्चार्ज हुने क्रममा डंगोल दम्पतीले उपचारमा संलग्न मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा. सुरेश महर्जन, डा. विजयमानसिंह कटुवाल, डा. अनिल पोख्रेलसहित सम्पूर्ण चिकित्सक टोलीप्रति आभार व्यक्त गरे ।

    केएमसीबाट प्राप्त सहयोगप्रति भावुक बनेका राजकुमारले कठिन अवस्थामा आफूहरूले वास्तविक जीवनमै भगवान् भेटेको अनुभूति गरेको बताए ।

    “हाम्रो सर्वस्व बगायो भन्ने पीडा त छँदै थियो, तर आज भगवान्रूपी सुनील सरले हामीलाई नयाँ जीवन दिनुभयो । हामीले संसारमा सत्कर्म गर्ने मानिसहरू अझै जीवित छन् भन्ने महसुस गरेका छौँ । उहाँप्रति हाम्रो कोटी–कोटी नमन छ,” उनले भने ।

    केएमसीका अनुसार अस्पतालमा हालसम्म गरिएका मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन् । विष्णुकुमारी केएमसीमा सफल मिर्गौला प्रत्यारोपण गराउने ८६औँ बिरामी हुन् ।

    विपद्का बेला पीडित नागरिकको उपचारका लागि आफ्नो अस्पतालका ढोका निःशुल्क खुला रहने घोषणा शर्मा यसअघि नै गरेका थिए । ‘पैसा नभएका कारण कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउनु नपरोस्’ भन्ने आफ्नो संकल्प रहेको उनले बताउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्