१७ भदौ, २०८३काठमाडौं । विपद्का कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा देखिएको समस्या समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ ।
चेम्बरले जमलस्थित आफ्नो सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो । पृथ्वी राजमार्गसहित देशका विभिन्न महत्वपूर्ण सडक अवरुद्ध भएपछि उद्योगी तथा व्यवसायीलाई सामान ढुवानी गर्न समस्या भएको भन्दै चेम्बरले यस्तो व्यवस्था गरेको जनाएको छ ।
सहजीकरण डेस्कमार्फत राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा देखिने समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान र ढुवानी व्यवसायीसँग समन्वय गरिनेछ ।
त्यस्तै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउन आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ ।
विपद्को समयमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन डेस्कले सम्बन्धित निकायबीच समन्वय गर्ने चेम्बरको भनाइ छ ।
