१६ भदौ, २०८३काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध ग्रुप कम्पनी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ सहयोग गरेका छन् ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उक्त रकमको चेक इप्पानमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा ऐक्यबद्धता जनाउँदै निजी क्षेत्रको तर्फबाट उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।
सामूहिक सहयोगमध्ये बुटवल पावर कम्पनी र उसका कर्मचारीबाट मात्रै ३३ लाख ३६ हजार ९८६ रुपैयाँ संकलन भएको छ । यसमा कम्पनीको तर्फबाट २२ लाख रुपैयाँ तथा व्यवस्थापन र कर्मचारीको तर्फबाट ११ लाख ३६ हजार ९८६ रुपैयाँ योगदान रहेको छ ।
त्यस्तै, समूहअन्तर्गतका विभिन्न कम्पनीले पनि राहत कोषमा सहयोग गरेका छन् । न्यादी हाइड्रोपावर लिमिटेडले ५ लाख ५० हजार रुपैयाँ, हिमाल पावर लिमिटेडले ५ लाख रुपैयाँ, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार रुपैयाँ र खुदी हाइड्रोपावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
कम्पनीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
साथै, बाढीपछि बेपत्ता भएका नागरिकहरू शीघ्र सुरक्षित रूपमा परिवारको सम्पर्कमा आउने कामना गर्दै खोजी तथा उद्धारमा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ ।
