१६ भदौ, २०८३काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरूबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।
बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो ।
मंगलबार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपदमा परेका नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम उपलब्ध गराएको हो ।
बिजी ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय रूपमा ठूलो जनधनको क्षति भएको भन्दै सहयोग रकमले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
