News Portal

  • बाढी प्रभावित हाइड्रोको सेयर कारोबारमा विशेष निगरानी राख्न निर्देशन

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८३
    ५० पटक
    १६ भदौ, २०८३

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने जलविद्युत आयोजनासहित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ ।

    त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीका कारण क्षति पुगेपछि बोर्डले लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता तथा धितोपत्र कारोबारलाई व्यवस्थित गर्न यस्तो निर्देशन दिएको हो ।

    बोर्डले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    त्यस्तै, प्रभावित कम्पनीबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण लिएर कम्पनीको आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न बोर्डले भनेको छ ।

    बोर्डका अनुसार प्रभावित कम्पनीले आयोजनाको नाम र स्थान, विपद् आएको मिति तथा प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा परेको प्रभाव, उत्पादन क्षमता प्रभावित भएको परिमाण, मानवीय क्षतिको विवरण तथा प्रसारण र वितरण पूर्वाधारमा परेको प्रभावबारे जानकारी दिनुपर्नेछ ।

    त्यसैगरी, बीमा गरिएको वा नगरिएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्ने क्षमतामा पर्न सक्ने प्रभाव र कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमसम्बन्धी विवरणसमेत सार्वजनिक गर्नुपर्नेछ ।

    बोर्डले प्रभावित कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्दै अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद तथा बिक्री आदेश र महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएका असामान्य कारोबारको निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । बजारको निष्पक्षता तथा पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी राख्न बोर्डले भनेको छ ।

    प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राख्दै सूचना प्रवाह, कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत बोर्डले निर्देशन दिएको छ ।

    बोर्डले यस विषयमा भएको कार्यप्रगति तथा बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस्