
१५ भदौ, २०८३काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत वितरण, स्वास्थ्य उपचार र बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना लगायतका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ ।
सिप्रभ्य समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिप्रदियन सहायता संस्थामार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।
संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमै पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन् ।
प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउँदै आएको समूहले जनाएको छ ।
विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउँदै सिप्रभ्य समूहले उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।