
१२ भदौ, २०८३काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोलगायत प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
एसोसिएसनले बुधबार भोटेकोशी खोलामा आएको भीषण बाढीलगायतका प्राकृतिक विपद्का कारण मुलुक गम्भीर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै विपदमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेको छ ।
एसोसिएसनले विपद्का बीच उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका स्थानीय समुदाय, नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति कृतज्ञता व्यक्त गरेको छ ।
उद्धारमा संलग्न सबैको सुरक्षा र स्वास्थ्यप्रति समेत विशेष ध्यान दिन आग्रहसमेत गरेको छ ।
विपद्का कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन तथा बेपत्ता रहेको भन्दै एसोसिएसनले उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ ।
बाढीका कारण सदस्य विकास बैंकका केही शाखा पनि प्रभावित भएको एसोसिएसनले जनाएको छ ।
विद्युत् आपूर्ति, नेटवर्क तथा सञ्चार सेवामा आएको अवरोधका कारण बैंकिङ सेवा प्रभावित भए पनि सम्भव भएसम्म सेवा निरन्तरता कायम गर्न प्रयास भइरहेको जनाएको छ ।
असामान्य परिस्थितिमा आफ्ना सदस्य विकास बैंकमार्फत राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न एसोसिएसन प्रतिबद्ध रहेको बताएको छ ।