
११ भदौ, २०८३काठमाडौं । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्ने प्रस्ताव प्रस्तुत भएको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहत, उद्धारदेखि पुनःस्थापनासम्मका कामलाई समन्वय गर्न सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् ।
बैठकमा लामिछानेले यस्तो समितिले सरकारलाई आवश्यक निर्णय लिन सहज हुने धारणा राखेका छन्।
‘राहत, उद्धारदेखि पुनःस्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,’ उनले बैठकमा भने।
बाढीपहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति भएको तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव बैठकमा आएको हो ।
सिंहदरबारमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा विपद्पछिको उद्धार, राहत, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनालगायत विषयमा छलफल भइरहेको छ ।