News Portal

  • २ अर्बमा ३० मेगावाटको ढल्केबर-२ सौर्य आयोजना बन्दै, बैंकबाट डेढ अर्ब ऋण लिँदै

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८३
    ७० पटक
    ९ भदौ, २०८३

    काठमाडौं । इन्टिग्रेटेड इनर्जी एण्ड इण्डस्ट्रियल इन्टरप्राइजेज प्रालिले धनुषामा ३० मेगावाट क्षमताको ढल्केबर-२ सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । एशियन हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणको प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत आयोजना विकासका लागि इन्टिग्रेटेड इनर्जीलाई अघि सारेको हो ।

    ढल्केबर ग्रिड उपकेन्द्रमा निर्माण हुने आयोजनाको विकास, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी इन्टिग्रेटेड इनर्जीको रहनेछ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत करिब ६ करोड ५१ लाख ९० हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ । आयोजनामा कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ । कुल स्वपुँजीमध्ये साउन मसान्तसम्म प्रवद्र्धकहरूले करिब १० प्रतिशत रकम लगानी गरिसकेका छन् । ऋणतर्फ भने कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४० करोड रुपैयाँ जुटाउने प्रक्रिया अघि बढाएको छ ।

    आयोजना हाल निर्माण तथा कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले निर्धारित समय र लागतभित्र निर्माण सम्पन्न गर्ने विषय मुख्य चुनौतीका रूपमा रहेको छ । आयोजनाका लागि आवश्यक जग्गा २७ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेकाले जग्गा उपलब्धतासम्बन्धी जोखिम भने न्यूनीकरण भएको कम्पनीले जनाएको छ ।

    निर्माण सम्पन्न भएपछि आयोजनालाई अपेक्षित क्षमतामा सञ्चालनमा ल्याई विद्युत् उत्पादन स्थिर बनाउन सक्ने क्षमता पनि महत्वपूर्ण रहनेछ । निर्माणमा ढिलाइ वा लागत वृद्धि भएमा आयोजनाको अनुमानित नगद प्रवाह तथा ऋण भुक्तानी क्षमतामा असर पर्न सक्ने जोखिम रहेको छ ।

    आयोजनामा मोनो-क्रिस्टलाइन बाइ-फेसियल प्रविधिमा आधारित सौर्य प्यानल जडान गर्ने योजना छ । उक्त प्रविधिका प्यानलमा तुलनात्मक रूपमा कम क्षयीकरण हुने तथा ऊर्जा उत्पादन क्षमता बढी हुने अपेक्षा गरिएको छ । यसले आयोजनालाई अपेक्षित विद्युत् उत्पादन क्षमता हासिल गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

    यद्यपि, सौर्य प्यानलको क्षयीकरण तथा प्रविधिसँग सम्बन्धित जोखिमका कारण आयोजनाले अपेक्षित क्षमतामा विद्युत् उत्पादन गर्न नसक्ने सम्भावना पनि रहन्छ । मौसम तथा जलवायु परिस्थितिमा हुने परिवर्तनले विद्युत् उत्पादन प्रभावित भएमा कम्पनीको आम्दानी, नगद प्रवाह तथा ऋण भुक्तानी क्षमतामा समेत असर पर्न सक्ने जनाएको छ ।

    कम्पनीमा तीन सदस्यीय सञ्चालक समिति रहेको छ । समितिको अध्यक्षता भानुभक्त पोखरेलले गर्दै आएका छन् । पोखरेल नेपालका विभिन्न जलविद्युत् कम्पनीमा प्रबन्ध निर्देशकका रूपमा समेत कार्यरत छन् ।

    आयोजनाबाट उत्पादित विद्युत् करिब १.५ किलोमिटर लामो ३३ केभी दोहोरो प्रसारण लाइनमार्फत सञ्चालनमा रहेको १३२÷३३ केभी ढल्केबर सबस्टेसनमा जोडिनेछ । यसका लागि कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग २०८२ साल मंसिर २६ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ ।

    विद्युत् खरिद सम्झौता ‘टेक एण्ड पे’ आधारमा गरिएको छ । सम्झौता आयोजना सञ्चालनमा आएको मितिदेखि २५ वर्षसम्म वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधि समाप्त नभएसम्म कायम रहनेछ । सौर्य आयोजनाका लागि प्रतिकिलोवाट घण्टा ५ रुपैयाँ ३९ पैसा विद्युत् खरिद दर निर्धारण गरिएको छ ।

    सरकारले विद्युत् उत्पादनलाई प्राथमिकताप्राप्त क्षेत्रका रूपमा अघि बढाउँदै आएको छ । विद्युत् उत्पादनमा निजी क्षेत्रको सहभागिता बढाउन विभिन्न नीतिगत तथा प्रोत्साहनात्मक व्यवस्था गरिएको छ । सौर्य ऊर्जा आयोजनालाई प्रोत्साहन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत विभिन्न छुट तथा सुविधा उपलब्ध गराइँदै आएको छ ।

    त्यस्तै, २०८५ साल वैशाख मध्यसम्म विद्युत् उत्पादन, प्रसारण तथा वितरणको व्यावसायिक सञ्चालन सुरु गर्ने संस्थाहरूलाई सुरुका १० वर्ष पूर्ण आयकर छुट र त्यसपछिका पाँच वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो कुल कर्जा लगानीको निश्चित हिस्सा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारी प्राथमिकता, कर छुट तथा बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा क्षेत्रमा हुने कर्जा प्रवाहले नवीकरणीय ऊर्जा क्षेत्रको विस्तारका लागि अनुकूल आधार तयार गरेको छ ।

    प्रतिकृया दिनुहोस्