News Portal

  • हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटासबीच सहकार्य

    आर्थीकसंसार संवाददाता४ भदौ, २०८३
    ५२ पटक
    ४ भदौ, २०८३

    काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौताअनुसार नेपालको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाले सञ्चालन गरेका व्यवसाय तथा हरित मूल्य शृङ्खलामा आबद्ध अन्य साझेदारको वित्तीय पहुँच विस्तारमा सहकार्य गरिनेछ। साथै, व्यवसाय विकासका लागि आवश्यक सहयोगसमेत उपलब्ध गराइनेछ ।

    सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका हुन् ।

    सहकार्यले हेल्भेटास नेपालको उद्यम विकास, समावेशी आर्थिक विकास तथा मूल्य शृङ्खला सुदृढीकरणसम्बन्धी अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोड्ने बैंकले जनाएको छ ।

    दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृङ्खलाको वित्तीयकरणलाई प्राथमिकता दिनेछन् ।

    कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमको विकासमा लागेका व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत सहयोग गर्ने बताए ।

    उनका अनुसार बैंक र हेल्भेटास नेपालको सहकार्यले हरित तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पुग्नेछ । साथै, सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासको आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सहकार्यअन्तर्गत वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा आबद्ध अन्य सरोकारवालाबीच प्रभावकारी सम्बन्ध स्थापित गर्न जोड दिइनेछ । वित्तीय स्रोत उपलब्ध गराउनुका साथै त्यसको प्रभावकारी परिचालन तथा व्यवस्थापनका लागि उद्यमीको क्षमता विकासमा पनि ध्यान दिइनेछ ।

    कुमारी बैंकले आफ्नो २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनलमार्फत लक्षित समुदायसम्म सेवा विस्तार गर्ने जनाएको छ ।

    बैंकले हेल्भेटास नेपालसँगको सहकार्यबाट हरित उद्यम, रोजगारी सिर्जना, सुदृढ मूल्य शृङ्खला तथा जलवायु–उत्थानशील आर्थिक प्रणाली विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्