
३ भदौ, २०८३काठमाडौं । अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी नाडा अटो शो २०२६ आगामी ९ भदौ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको टाइटल स्पोन्सर एचपी लुब्रिकेन्ट्स छ ।
नाडाको ५०औं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको अटो शोको १८औं संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाबारे जानकारी लिन उपभोक्ता र व्यवसायीले प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायतका उत्पादनसमेत प्रदर्शन गरिनेछ । आयोजकले ‘मेड इन नेपाल/मेड फर नेपाल’ पभिलियनमार्फत स्वदेशमै उत्पादन भएका तथा नेपाली बजारलाई लक्षित उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।