News Portal

  • कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

    आर्थीकसंसार संवाददाता१ भदौ, २०८३
    २२ पटक
    १ भदौ, २०८३

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ ।

    आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

    यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।

    ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त भए/नभएको अवस्था सजिलै हेर्न सक्नेछन् ।

    आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपछि १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।

    कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

    बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।

    विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्