News Portal

  • एनपीएल १५.५५ प्रतिशत पुगेपछि प्रभु बैंक २४ करोड घाटामा

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८३
    ३९ पटक
    २९ साउन, २०८३

    काठमाडौं । प्रभु बैंक गत आर्थिक वर्ष २०८२/८३ मा घाटामा पुगेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष बढेर १५.५५ प्रतिशत पुगेको छ । खराब कर्जा उच्च दरमा बढेपछि बैंकले ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङमा छुट्याएको छ । जबकि अघिल्लो वर्ष २ अर्ब ४० करोड रुपैयाँ मात्रै प्रोभिजनिङमा छुट्याएको थियो ।

    जसकारण गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

    गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २८.७२ प्रतिशत बढेर ९ अर्ब २६ करोड ५७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड ७२ लाख ६९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड १४ लाख ९९ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ५९ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

    २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ९४ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ ।

    गत असारसम्म बैंकको निक्षेप संकलन १.७१ प्रतिशत बढेर ३ खर्ब ४८ अर्ब ४ करोड ३१ लाख रुपैयाँ र कर्जा लगानी ४.८३ प्रतिशत घटेर २ खर्ब १४ अर्ब ५४ करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.८६ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ६.५६ रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर नेटवर्थ १४०.९२ रुपैयाँ छ ।

    बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ८.८३ प्रतिशतबाट घटेर ८.१७ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने ११.८३ प्रतिशत कायम रहेको छ ।

    प्रतिकृया दिनुहोस्