

२६ साउन, २०८३काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसरमा व्यक्तिगत सवारी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन् । हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ ।
बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ ।
त्यस्तै, नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ । तीन वर्षपछि भने उक्त कर्जामा बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने व्यवस्था गरिएको छ ।
नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमई बैंकले आफ्नै प्रदर्शनी कक्षसमेत राखेको छ । उक्त कक्षबाटै गाडी खरिद गर्न इच्छुक ग्राहकले सवारी कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
ग्राहकले आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार विशेष योजनाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज र छिटो कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्नेछ ।