२० जेठ, २०८३काठमाडौं । फिफा विश्वकप यही जुन ११ बाट सुरु हुँदैछ। खेलप्रेमीका लागि फुटबलको यो महाकुम्भको २३ औँ संस्करण हो।
अमेरिका, मेक्सिको र क्यानडामा हुने यसपालि फिफा विश्वकपमा ४८ टिमले भाग लिएका छन्। यसअघिका फिफा विश्वमा ३२ टिमले सहभागिता जनाउँदै आएका थिए।
यसपालि विश्वकपमा १२ वटा समूहमा ४–४ वटा टोली समावेश छन्। फिफा विश्वकपका लागि ठूलो धनराशिको बीमा योजनाहरु पनि ल्याइएका छन्। खेलाडीदेखि दर्शकसम्मलाई बीमा योजनाहरु समावेश छन्।
फुटबल खेलको प्रगति हुँदै जाँदा प्रत्येक वर्ष खेलाडीहरुले खेल्ने खेलहरुको संख्या पनि निरन्तर बढ्दै गइरहेको छ। धेरै खेल खेल्दा ऊर्जा कम हुन्छ, शरीर थकित हुन्छ र चोटपटकको जोखिम बढ्छ।
यसैकारण धेरै फुटबल खेलाडीहरुले आफ्नो एथलेटिक क्षमता कायम राख्न र चोटपटकबाट बच्न आफ्नो शरीरका विभिन्न अंगहरुको बीमा गर्छन्। हालसम्मकै सबैभन्दा ठूलो बीमा योजना कुन फुटबलरको छ त भन्ने विषयमा हामी यहाँ चर्चा गर्न गइरहेका छौँ।
हालसम्म सर्वाधिक महँगा बीमा पोलिसी लिने शीर्ष ३ खेलाडी
लियोनेल मेस्सी (बायाँ खुट्टा): ९० करोड डलर
लियोनेल मेस्सी सबै समयका उत्कृष्ट फुटबलरहरुमध्ये एक हुन्। उनी अर्जेन्टिना र बार्सिलोना दुवैका लागि सबै समयका अग्रणी गोल स्कोरर हुन्। फुटबल प्रशंसकहरुलाई थाहा छ कि यो जादुगरको बायाँ खुट्टाले के चमत्कारहरु सिर्जना गर्न सक्छ। मेस्सीसँग फुटबलमा सबैभन्दा महँगो शरीरको अंग बीमा छ। जसमा उनको बायाँ खुट्टाका लागि ९० करोड डलरको बीमा पोलिसी रहेको छ।
डेभिड बेकह्याम (खुट्टा): १९ करोड ५० लाख डलर
सन् १९९० को दशकमा बेकह्याम फुटबल जगतको चर्चामा थिए। उनी आफ्नो फ्री किक र पासका लागि परिचित थिए। उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एसी मिलान र पीएसजीसहित युरोपका केही उत्कृष्ट क्लबहरुका लागि खेले। सन् २०१३ मा उनले फुटबलबाट सन्यासको घोषणा गरे। उनको खुट्टाको बीमा पोलिसीको मूल्य १९ करोड ५० लाख डलरसम्मको थियो।
क्रिस्टियानो रोनाल्डो (खुट्टा): १४ करोड ४४ लाख डलर
पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडीले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र हाल युभेन्टसका लागि खेलेका छन्। सन् २००९ मा क्लबमा सामेल हुँदा रियल म्याड्रिडले उनलाई चोटपटकबाट बचाउन उनको खुट्टाको बीमा गराएको थियो। उनको बीमा पोलिसी १४ करोड ४४ लाख डलरबराबरको छ। – एजेन्सीको सहयोगमा
