News Portal

  • एनआईएमबिले भन्यो- ३८ करोड अक्सन अकाउन्टमा छ, प्रमाणसहित आए भुक्तानी गर्छौं

    आर्थीकसंसार संवाददाता३१ बैशाख, २०८३
    १२ पटक
    ३१ बैशाख, २०८३

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ले स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित धितो लिलाम प्रकरणमा भइरहेको अनुसन्धानमा आवश्यक सबै कागजात र विवरण उपलब्ध गराउँदै आएको जनाएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएपछि बैंकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    बैंकले प्रचलित कानुन, विशेषगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७, सुरक्षित कारोबार ऐन, २०६३ तथा बैंकको कर्जा असुली निर्देशिका अनुसार नै ऋण असुली प्रक्रिया अघि बढाइएको जनाएको छ ।

    ‘निक्षेपकर्ताको निक्षेपबाट प्रवाह भएको कर्जा असुल गर्नु बैंकको कानुनी दायित्व र जिम्मेवारी हो । सोही जिम्मेवारी अन्तर्गत बैंकले कर्जा असुली प्रक्रिया अघि बढाएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

    बैंकका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्री लिलामीका लागि २०८२ असोज ३ गते सूचना प्रकाशित गरिएको थियो । सोही प्रक्रिया अनुसार लिलाम बिक्रीबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ प्राप्त भएको बैंकले जनाएको छ ।

    प्राप्त रकममध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण अन्तर्गतको कर्जा सुविधा चुक्ता गर्न प्रयोग गरिएको र बाँकी ३८ करोड रुपैयाँ ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’ मा रोक्का राखिएको बैंकले स्पष्ट पारेको छ ।

    बैंकका अनुसार उक्त रकम दूरसञ्चार सेवा सम्बन्धित उपकरण जडान भएका घरधनीलाई तिर्न बाँकी घरभाडा, विद्युत् महसुललगायत दायित्व भुक्तानीका लागि रोक्का राखिएको हो । सम्बन्धित निकायबाट प्रमाणसहित दाबी आएपछि क्रमशः भुक्तानी गरिने बैंकले जनाएको छ ।

    बैंकले अनुसन्धानका लागि सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    साथै, अनुसन्धान प्रक्रियाले बैंकको दैनिक कारोबार, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, सेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै असर नपर्ने दाबी बैंकले गरेको छ ।

    ‘बैंकको नियमित सेवा तथा वित्तीय गतिविधि यथावत् सञ्चालन भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्