News Portal

  • सौराहामा रोयल टुलिप चितवनको आईपीओको तयारी सुरु

    आर्थीकसंसार संवाददाता१८ बैशाख, २०८३
    २४ पटक
    १८ बैशाख, २०८३

    काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

    धितोपत्र बोर्डको पछिल्लो विवरण अनुसार, केटीएम हस्पिटालिटी बोर्डको पाइपलाइनमा १८ औँ नम्बरमा सूचीकृत भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारीमा आरबीबी मर्चेन्ट बैंकिङ छ ।

    कस्तो छ कम्पनीको वित्तीय अवस्था र रेटिङ ? 

    आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीले चितवनको सौराहामा कुल १ अर्ब ७० करोड ५ लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।

    आईपीओ निष्काशन गरीए संगै यो आयोजनामा ऋण र स्वपूँजीको अनुपात ६१.५ ः ३८.५ रहनेछ । अर्थात परियोजनामा बैंक ऋणको हिस्सा अझै बढी रहने देखिएपनि कम्पनीले स्वपूँजीको अनुपात बढाउदै लगेको देखिन्छ । कम्पनीले सन २०२५ को साउन देखि सफ्ट ओपनिङ र असोज मध्यदेखि पूर्ण रूपमा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

    केटीएम हस्पिटालिटी सुरुमा प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको थियो तर २०८१ असार २५ गते यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले आफ्नो परियोजनाको पूँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋण भार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आईपिओ जारी गर्न लागेको हो । होटल उद्योगमा ‘जेस्टेसन पिरियड’ (लगानी फिर्ता हुन लाग्ने समय) लामो हुने भएकाले दीर्घकालीन पूँजी जुटाउन आईपिओ एक महत्वपूर्ण माध्यम बन्ने रिपोर्टमा उल्लेख छ ।

    यो कम्पनीको नेतृत्व अनुभवी व्यवसायी रामेश्वर शाहले गरिरहेका छन् । शाह केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा सिइओ हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्व उपाध्यक्ष र आउटसोर्सिङ एशोसिएसन अफ नेपालका अध्यक्ष समेत हुन् । उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा पनि उनको सक्रिय भूमिका रहेको छ ।

    रिसोर्ट सञ्चालनका लागि कम्पनीले फ्रान्सेली होटल चेन ‘लुभ्र होटल्स् ग्रुप’ अन्तर्गतको ‘रोयल ट्युलिप’ ब्रान्डसँग व्यवस्थापकीय सम्झौतामा चलिरहेको छ ।

    चितवनको राप्ती नदी र कुमरोज सामुदायिक वनको आडमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठाहरू छन् । रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याड जस्ता सुविधाहरू रहेको छ ।

    रिपोर्टअनुसार, अन्तर्राष्ट्रिय ब्रान्डको आबद्धता र अनुभवी प्रवद्र्धक हुनु कम्पनीका सबल पक्ष हुन तर, पर्यटन क्षेत्रमा हुने उतारचढाव, चर्को प्रतिस्पर्धा र उच्च बैंक ऋणका कारण सुरुवाती वर्षहरूमा तरलतामा केही चाप पर्न सक्ने रेटिङ एजेन्सीले औँल्याएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि यो कम्पनीले आईपीओ निष्काशन गर्नेछ, जसले चितवनको पर्यटन उद्योगमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्