News Portal

  • नेपाल बीमा प्राधिकरणद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्क्रिया सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८२
    १६ पटक
    २२ चैत, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा चैत २१ गते बर्दिवासमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दुईदिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक एवम् नियमन महाशाखा प्रमुख शाम्भ राज लामिछानेले वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाइराख्न एएमएल सीएफटीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको सन्दर्भमा बीमा क्षेत्रको भूमिका पनि निकै महत्वपूर्ण रहेको बताए ।

    निर्देशक लामिछानेले बीमकहरूले ग्राहक पहिचान, जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबारको समयमै पहिचान र प्रतिवेदन मार्फत वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने उल्लेख गर्दै सबै सरोकारवालाहरूलाई सचेत, जिम्मेवार र प्रतिबद्ध भई कार्य गर्न आग्रह गरे ।

    नेपाल बीमा प्राधिकरणका उपनिर्देशक एवम् सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि बीमा क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावलले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानूनी अनुपालनमा एकरूपता ल्याउन कार्यक्रमबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

    बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरूको सहभागितामा चैत २० र २१ गते भएको कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विद्यमान कानून तथा नियम, प्राधिकरणबाट जारी निर्देशन, जोखिम पहिचान, ग्राहकको उचित पहिचान, शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन पेश गर्ने प्रक्रिया लगायतका विषयमा विस्तृतरूपमा छलफल भएको थियो ।

    साथै, कार्यक्रममा एएमएल तथा सीएफटी सम्बन्धी कानूनी दायित्व, संस्थागत उत्तरदायित्व, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा अनुपालन सुनिश्चित गर्ने उपायहरूका बारेमा जानकारी समेत दिइएको थियो ।

    कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक सुस्मा थापा र सहायक निर्देशक महेश मण्डलले गरेका थिए ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक प्रथम निकेश लाल कर्ण, बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्