News Portal

  • विद्यार्थीलाई सक्षम नागरिक बनाउन ज्योति विकास बैंक सक्रिय

    आर्थीकसंसार संवाददाता१० चैत, २०८२
    १५ पटक
    १० चैत, २०८२

    काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी वीक २०२६ अभियान अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत २ गतेदेखि ८ गतेसम्म एक सातासम्म विविध सचेतनामूलक कार्यक्रम आयोजना गरी अभियान मनाएको हो ।

    ‘स्मार्ट मनी टक्स’ भन्ने मुख्य नारासहित सञ्चालन गरिएको अभियानमार्फत युवा तथा लक्षित वर्गलाई वित्तीय ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले बैंकका विभिन्न शाखामार्फत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । डिजिटल माध्यम तथा सामाजिक सञ्जालमार्फत पनि विभिन्न सचेतनामूलक सामग्री सार्वजनिक गरिएको थियो ।

    अभियानअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालय अन्तर्गतका शाखाहरूले विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका कार्य, वित्तीय अनुशासन, आवश्यकता र चाहनाको व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण, बचत, लगानी, खर्च व्यवस्थापन, विद्युतीय वित्तीय सेवा, नगदरहित कारोबार, धितोपत्र बजार तथा विद्युतीय ठगी सम्बन्धी विषयमा ३० भन्दा बढी तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए । यसबाट करिब २ हजार २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ ।

    यस अवधिभर बैंकले सामाजिक सञ्जालमार्फत अडियो–भिजुअल सामग्री प्रकाशन गर्नुका साथै प्रभातफेरी कार्यक्रममार्फत वित्तीय जानकारी प्रवाह गरेको थियो । यस्ता कार्यक्रमले बालबालिका, युवा तथा लक्षित वर्गमा वित्तीय साक्षरताको महत्वबारे जागरण ल्याउने विश्वास बैंकको रहेको छ ।

    संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गरेको जनाएको छ । नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न सहयोग पुगेको बैंकको दाबी छ ।

    बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको जनाएको छ । हाल ज्योति विकास बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्