News Portal

  • युवा विद्यार्थीलाई वित्तीय ज्ञान दिँदै लुम्बिनी विकास बैंक

    आर्थीकसंसार संवाददाता१० चैत, २०८२
    ११ पटक
    १० चैत, २०८२

    काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा लुम्बिनी विकास बैंक लिमिटेडले देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    बैंकले सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता अभिवृद्धि, वित्तीय ज्ञान तथा सकारात्मक वित्तीय मनोवृत्ति विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

    कार्यक्रमअन्तर्गत युवा विद्यार्थीलाई बैंकिङ प्रणालीबारे जानकारी गराउँदै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण सेवा, डिजिटल बैंकिङलगायत विषय समेटेर विद्यालयमै वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो । साथै, बैंकका शाखा कार्यालयहरूले वित्तीय जानकारीमूलक प्लेकार्ड प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरेका थिए ।

    ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सन् २०२६ को ग्लोबल मनी वीक मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको थियो । सोही अवसरमा बैंकले युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । बैंकका अनुसार यस अभियानले बैंकिङ प्रणालीप्रति विश्वास बढ्नुका साथै विद्यार्थीमा वित्तीय ज्ञानको विकास भएको अपेक्षा गरिएको छ ।

    हाल देशका सातै प्रदेशमा सेवा विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका विभिन्न स्थानमा ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालनमा रहेका छन् । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आधुनिक प्रविधिमा आधारित सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    ग्राहकलाई अधिकतम प्रतिफल उपलब्ध गराउने उद्देश्यले बैंकले बचत निक्षेप खातामा आकर्षक ब्याजदर सहितका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्