१ चैत, २०८२काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।
बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको हो ।
बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसाथ गरी चैत्र १ गतेदेखि ८ गतेसम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
यसका साथै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्रीहरू उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत पनि प्रशारण गर्नेछ ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

