News Portal

  • ‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८२
    १० पटक
    २५ फागुन, २०८२

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरूले सकारात्मक रुपमा लिएका छन् ।

    भरतपुर महानगरपालिका-१० निवासी पृथ्वी धिताल अहिलेको परिवर्तन देशका लागि भएको बताउँछन् । युवा पुस्ताका लागि रोजगारी र सुशासन नै महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘अहिले भएको निर्वाचनको परिणामले युवा पुस्तालाई सम्बोधन गर्छ । यदि त्यसो हुन नसके फेरि अर्को विद्रोह नहोला भनेर भन्न सकिँदैन । जेनजी आन्दोलन पछिको निर्वाचनले  देशवासीलाई विश्वस्त बनाउनुपर्ने छ,’ उनले भने ।

    अहिले देशमा सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारीको वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताए ।

    प्यूठानबाट उपचारका लागि बिरामी लिएर चितवन आएका प्रेम श्रेष्ठ अब बन्ने सरकारले परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न सकेन भने अहिलेको परिवर्तनसमेत खेर जाने चिन्ता उनीमा छ । जेनजी आन्दोलन पछि बन्न लागेको सरकारमा जनताको अपेक्षा पूरा गर्न सक्ने क्षमता हुन आवश्यक रहेको उनले बताए ।

    भरतपुर महानगरपालिका-२ क्षेत्रपुर निवासी प्रवास पराजुली अब सुशासनको प्रत्याभूति हुन आवश्यक रहेको बताउँछन् ।

    उनले भने, ‘अब बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा कसरी काम गर्छ भन्ने हेर्ने समय आएको छ । वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने र नेपालका उद्योग कल कारखाना सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै देशको आर्थिक समृद्धिमा लाग्न आवश्यक छ ।’

    भरतपुर महानगरपालिका-१४ निवासी रचना दाहाल अहिलेको परिवर्तनलाई कमजोर सोच्न नहुने बताइन् । उनले भनिन्, ‘यो परिवर्तनलाई कमजोर सोच्ने हो भने फेरि अर्को विद्रोह हुनसक्छ । यो परिवर्तनलाई आत्मसाथ गर्दै देश र जनताको पक्षमा काम गर्न अब बन्ने सरकार लाग्नुपर्छ ।’

    जनताले परिवर्तनको पक्षमा देखाएको मत खेर जान दिने छुट कसैमा नभएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मूल मर्म मान्न आग्रह गरिन् ।

    युवाहरूले अब बन्ने सरकारले पाएको मत अनुसार देशलाई अगाडि बढाउनेमा ढुक्क छन् । अन्य दलहरूले सरकारलाई निगरानीमा राखेर काम गर्न दिनुपर्नेमा उनीहरुको जोड छ । शिक्षा र रोजगारीका लागि युवा शक्ति विदेश जानबाट रोकेर यही पढ्ने र काम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा धेरैको जोड छ ।

    सरोकारवाला निकायसँग छलफल गरी जनताको निराशालाई आशामा बदल्न उनीहरुले सुझाएका छन् ।

    प्रतिकृया दिनुहोस्