News Portal

  • कामना सेवा विकास बैंकको अनुसन्धान अनुदानको म्याद चैत मसान्तसम्म थप

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०८२
    २० पटक
    १६ फागुन, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीहरुलाई प्रदान गर्ने अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को आवेदन म्याद चैत मसान्तसम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालय र विद्यार्थीको अनुरोधअनुसार म्याद बढाइएको हो ।

    बैंकले अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई सोध कार्यका लागि अनुसन्धान अनुदान प्रदान गर्नेछ ।

    आवेदकले कुनै पनि विश्वविद्यालयमा व्यवस्थापन वा अर्थशास्त्रमा मान्यता प्राप्त स्नातकोत्तर वा सम्बन्धित विषयमा भर्ना भएको हुनुपर्नेछ ।

    बैंकले एमफिल गर्दै गरेका दुई जना विद्यार्थीलाई बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यका लागि जनही १ लाख रुपैयाँ र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका चार जना विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र, सूचना र प्रविधि सम्बन्धी सोध कार्यका लागि जनही ५० हजार रुपैयाँ अनुदान प्रदान गर्ने योजना बनाएको छ ।

    अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित १३ अप्रिल २०२६ (चैत मसान्त) भित्र बैंकमा प्रस्तावना पेश गर्नुपर्नेछ । छनौट समितिले सम्बन्धित विषयका विज्ञहरुलाई समावेश गरेर अनुदान प्राप्त गर्ने विद्यार्थीको छनोट गर्नेछ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार विद्यार्थीले गर्ने सोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले भरपर्दो, प्रमाणित तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्नेछ । यस अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय र कलेजका विभिन्न संकायका विद्यार्थीलाई फेलोसिप रिसर्च ग्रान्ट प्रदान गर्न सकिने व्यवस्था भएपछि कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलब्ध गराउने भएको हो ।

    प्रतिकृया दिनुहोस्