२९ माघ, २०८२काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड रहेको छ ।
१ अर्ब रुपैयाँ बराबरको यस योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना हो । प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० दरले ५ करोड रुपैयाँ इकाई सार्वजनिक निष्कासन गरिनेछ ।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यो योजनाले सर्वसाधारण लगानीकर्तालाई सुरक्षित र दीर्घकालीन लगानीको अवसर प्रदान गर्नेछ ।
यसअघि गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा रहेको छ ।
कम्पनीले ‘गरिमा सुवर्ण योजना’मार्फत पुँजी बजारमा नयाँ लगानीकर्ताको सहभागिता बढ्ने र सामूहिक लगानी कोषप्रति विश्वास अभिवृद्धि हुने अपेक्षा गरेको छ ।

