News Portal

  • आरविवि मर्चेन्ट बैंकिङ ११औँ वर्षमा प्रवेश, ईपीएस २८.८७ रुपैयाँ पुग्यो

    आर्थीकसंसार संवाददाता१८ माघ, २०८२
    २५ पटक
    १८ माघ, २०८२

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १०औँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहीबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

    कम्पनी सञ्चालक समितिका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा माघ १५ गते यल्लो पगोडा होटल, काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले स्वागत मन्तव्य दिँदै कम्पनीको संक्षिप्त वित्तीय विवरण प्रस्तुत गरे । उनका अनुसार आरविवि मर्चेन्ट बैंकिङको प्रतिशेयर आम्दानी (ईपीएस) आर्थिक वर्ष २०७३/७४ मा ०.३५ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २८.८७ रुपैयाँ पुगेको छ । त्यसैगरी नेटवर्थ पनि २०७३/७४ मा १००.७५ रुपैयाँ रहेकोमा २०८१/८२ मा १३७.८५ रुपैयाँ कायम भएको छ ।

    कुल आम्दानीमा आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ सम्म आइपुग्दा २,२२१.६५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत नगद लाभांशसहित कुल ७३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई प्रदान गरिएको जानकारी पनि कार्यक्रममा दिइयो ।

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड कोष व्यवस्थापक रहेको आरविवि म्युचुअल फन्ड अन्तर्गत हाल आरविवि म्युचुअल फन्ड–१, आरविवि म्युचुअल फन्ड–२ र आरविवि फोकस–४० गरी तीन सामूहिक लगानी योजना सञ्चालनमा छन् । आर्थिक वर्ष २०८१/८२ मा आरविवि म्युचुअल फन्ड–१ ले २० प्रतिशत र आरविवि म्युचुअल फन्ड–२ ले १३ प्रतिशत नगद लाभांश इकाइधनीहरूलाई वितरण गरेको छ ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले कम्पनीका भावी योजना र चुनौतीबारे समेत प्रस्तुति दिएका थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखामध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने सुर्खेत, कीर्तिपुर, बानेश्वर, सल्लेरी र इटहरी शाखाका प्रमुखहरूलाई सम्मान गरिएको थियो । साथै आरविवि मर्चेन्ट बैंकिङको लगानी व्यवस्थापन सेवामार्फत उत्कृष्ट लगानी गर्ने दुई जना ग्राहकलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा कम्पनीका सञ्चालकहरू दुर्गा कुमारी कँडेल, रामकुमार थापा, भीमप्रसाद घिमिरे, कृष्ण श्रेष्ठ र नरेशजंग थापा सहभागी थिए । विशेष अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण पन्दाक उपस्थित थिए ।

    यसका साथै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक तथा आरविवि मर्चेन्ट बैंकिङका पूर्व अध्यक्ष कबिराज अधिकारी, पूर्व अध्यक्ष किरणकुमार श्रेष्ठ, पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, आरविवि म्युचुअल फन्डका कोष सुपरिवेक्षक सीए मधुवीर पाण्डे, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी युनियनका अध्यक्षहरू, केन्द्रीय कार्यालयका विभागीय प्रमुख तथा उपप्रमुख, काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण शाखा प्रमुखहरू तथा इटहरी र सुर्खेत शाखाका प्रमुखहरू सहित कम्पनीका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्