१४ माघ, २०८२काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सेयर बजारसँग सम्बन्धित लाइभ मार्केट सुविधा उपलब्ध गराएको छ । यस सुविधाबाट प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भइरहेको सेयरको सम्पूर्ण जानकारी वास्तविक समयमा पाउनेछन् ।
बैंकका अनुसार लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, स्टक कम्प्यारिजन, क्यालकुलेटर र ब्रोकर लिस्ट लगायतका जानकारीहरू समेटिएका छन् । यसबाट लगानीकर्ताले बजारका अवसरहरू र आफ्नो लगानीको अवस्था सजिलै ट्र्याक गर्न सक्नेछन् ।
यस सुविधामा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी कुल लगानीको वर्तमान मूल्य र नाफा–घाटा रियल–टाइम हिसाब पाउन सक्नेछन् । क्यालकुलेटर सुविधाले सेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब–किताब गर्न सहयोग गर्दछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मनपर्ने सेयरहरूको मूल्य परिवर्तन र बजार ट्रेन्ड निगरानी गर्न सुविधा दिन्छ । स्टक कम्प्यारिजनले विभिन्न सेयरको तुलनात्मक विश्लेषणमा मद्दत गर्ने बैंकले जनाएको छ ।
त्यस्तै, ग्लोबल स्मार्ट प्लसबाट अब आईपीओ आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ । प्रयोगकर्ताले आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि सीआरएन नम्बर तुरुन्तै प्राप्त गरी खुल्ला भएको आईपीओमा सजिलै आवेदन दिन सक्नेछन् । बैंकले एपमार्फत आईपीओ खुला भएको जानकारी समेत उपलब्ध गराउने छ, जसले लगानीकर्तालाई अन्य माध्यम प्रयोग नगरी आवेदन दिन सहज बनाउँछ ।
ग्लोबल स्मार्ट प्लस मार्फत यसअघि उपलब्ध बैंकिङ सेवाहरू जस्तै रकमान्तरण, क्युआर
भुक्तानी र दैनिक उपभोग्य शुल्क भुक्तानी अब सेयर बजार र आईपीओ सुविधासँग जोडिएर प्रयोगकर्ताका लागि थप उपयोगी बनेको छ ।


