२३ मंसिर, २०८२काठमाडौं । नेकपा एमालेले आफ्नो ११ औं महाधिवेशनमा विदेशका मित्रशक्ति र मित्रराष्ट्रको आतिथ्यतामा विगतको भन्दा अलिकति फरक अभ्यास गर्ने भएको छ ।
विगतका महाधिवेशनहरूमा वैदेशिक मित्रशक्ति र तिनका नेताहरूलाई भौतिक रूपमा आफ्नो महाधिवेशनमा अतिथि बनाउँदै आएको एमालेले ११ औं महाधिवेशनमा शुभकामना पत्रका लागि मात्रै आग्रह गरेको छ ।
एमालेको विदेश विभागका एक नेताका अनुसार भाइचारा सम्बन्ध भएका ३२ राजनीतिक दललाई शुभकामनाका लागि आग्रह गरिएको छ । ती नेताका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी, भियतनाम र क्युवाका श्रमिक पार्टीहरूलाई शुभकामना सन्देशका लागि आग्रह गरिएको हो ।
यस्तै, भारतीय जनता पार्टी, कांग्रेस आई, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी सहितका कम्युनिष्ट पार्टीहरूलाई शुभकामना सन्देशका लागि आग्रह गरिएको ती नेताले जानकारी दिए ।
श्रीलंकाको सत्तासीन जनता पेरुमुरा र कम्युनिष्ट पार्टी अफ श्रीलंकालाई पनि सन्देशका लागि आग्रह गरिएको ती नेताले बताए ।
ती नेताका अनुसार बंगलादेश, माल्दिभ्स, ब्राजिल फ्रान्स, पोर्चुगल, स्पेन र रसिया लगायतका ३२ देश कम्युनिष्ट तथा वामपन्थी दलहरूलाई शुभकामनाका लागि आग्रह गरिएको ती नेताले जानकारी दिए ।
यसैगरी, नेपालमा रहेका २९ कुटनीतिक नियोगहरूलाई भने शुभकामना सन्देशका लागि भौतिक रूपमै आतिथ्यताका लागि आग्रह गरिएको विदेश विभागका नेताले जानकारी दिए ।
ती नेताका अनुसार चीन, भारत, अमेरिका, बेलायत लगायतका राजदूत तथा नियोग प्रतिनिधिहरूलाई शुभकामना सन्देशका लागि आग्रह गरिएको छ ।


