२९ कार्तिक, २०८२काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर स्व. डा. यादवप्रसाद पन्तको १००औँ जन्मजयन्तीको अवसरमा ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ विषयक एकदिने विचार गोष्ठी सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालमा आधुनिक अर्थतन्त्रको जग बसाल्न डा. पन्तले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए । उनले डा. पन्तलाई बहुआयामिक व्यक्तित्वका रूपमा वर्णन गर्दै वित्तीय तथा मौद्रिक नीतिसँगै कुटनीति, योजना तथा राजनीतिमा उहाँको उत्कृष्ट दखल रहेको उल्लेख गरे ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्वकालमा मुलुकको वित्तीय क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण संरचनागत सुधारको प्रारम्भ भएको बताए । उनका अनुसार ५०० र १००० रुपैयाँका बैंक नोटको प्रचलन, बैंकिङ विकास कोषको स्थापना तथा बैंकिङ सेवाको पहुँच विस्तार जस्ता उल्लेख्य कार्यहरू डा. पन्तकै कार्यकालमा सम्पन्न भएका थिए ।
पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले डा. पन्तलाई ‘आधुनिक अर्थतन्त्रका चिन्तक’का रूपमा प्रस्तुत गर्दै आर्थिक सुधारका उनका प्रयास आज पनि मार्गदर्शक रहेको बताए । त्यस्तै, पूर्व गभर्नर गणेशबहादुर थापाले बैंकिङ र वित्तीय सेवाको विस्तारमा पन्तको पहल निर्णायक रहेको धारणा राखे ।
गोष्ठीमा पूर्व अर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, डा. रूप ज्योति तथा पूर्व गभर्नरहरू—डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई र दीपेन्द्रबहादुर क्षेत्रीले डा. पन्तको व्यक्तित्व र योगदानका विविध पक्षबारे विचार व्यक्त गरे ।
कार्यक्रममा पूर्व महालेखापरीक्षक भानुप्रसाद आचार्य, ‘डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान’का सदस्य राधेश पन्तलगायतले स्वर्गीय पन्तसँग सम्बन्धित प्रेरणादायी क्षणहरू स्मरण गरे ।
कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भोलाराम श्रेष्ठले ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ शीर्षक कार्यपत्र प्रस्तुत गरे । प्रतिष्ठानले तयारी गरेका डा. पन्तको जीवनीसम्बन्धी श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राखिन् भने डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्र सहजीकरण गरे । कार्यक्रम गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले सञ्चालन गरेका थिए ।
वि.सं. १९८२ मंसिर २ गते काठमाडौंमा जन्मिएका डा. पन्त २०२५–२०३० मा नेपाल राष्ट्र बैंकका गभर्नर र २०३७–२०३९ मा अर्थमन्त्री रहे । राष्ट्रिय योजना आयोगका संस्थापक सदस्यसमेत रहेका पन्तले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत संस्थासँग नेपालको वित्तीय साझेदारी विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । आर्थिक नीतिगत तथा संरचनागत सुधारमा योगदानलाई स्मरण गर्दै राष्ट्र बैंकले गोष्ठी आयोजना गरेको हो ।




