२० कार्तिक, २०८२काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो ।
बिहीबार (आज) बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे ।
जारी गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् १ अर्ब ८० करोड बराबरको भाग संस्थागत तथा व्यक्तिगत तवरबाट निष्काशन गरिनेछ भने बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् १ अर्ब २० करोड बराबरको भाग सर्वसाधारणका लागि खुला हुनेछ ।
उक्त ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को वार्षिक ब्याजदर ६ प्रतिशत रहनेछ र यसको अवधि सात वर्ष तोकिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ३१० शाखा कार्यालयमार्फत देशभर आधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।




